महेन्द्रनगर १० माघ – पटक पटक सीमाना मिच्दै आएको भारतले फेरि एकतर्फी रुपमा नेपाली भूमिमा निर्माण कार्य सुरु गरेको छ।
भारतीय पक्षले नेपाली भूमिमै कल्भर्ट बनाउँदा नेपाली नागरिक गोविन्द गौतमलाई गोली हानी मारेको दुई वर्ष नपुग्दै भारतीय वन विभागले सीमाना मिचेर दुधुवा नेशनल पार्क क्षेत्रमा ड्रिल बनाउन लागेको छ।
भारतीय पक्षले अहिले नेपालको पुनर्बास नगरपालिका–११ डोकेबजारको ७५३/१७१ नम्बर पिलर क्षेत्रदेखि ड्रिल बनाउन थालेको हो।
भारतीय पक्षले एकलौटी ढङ्गबाट सीमा क्षेत्रमा बाँध जस्तै ड्रिल निर्माण गर्नका लागि नेपाली पक्षसँग सहमति नलिएका कारण स्थानीयले विरोध गरेका छन्।
नेपाली पक्षले भारतीय पक्षलाई काम रोक्न आग्रह गरेको छ। कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टले अहिले भारतले काम रोकेको बताए। उनका अनुसार शुक्रबार नेपाली अधिकारीले सो क्षेत्रको स्थलगत अध्ययन गर्ने छन्।
यसैबीच, नेपाली कांग्रेसका नेता गोपाल गुरुङले भारतीय पक्षले कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्रमा एकलौटी ढङ्गबाट निर्माण गर्न लागेको नाला रोक्नुपर्ने माग गरेका छन्।
गुरुङले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै भारतीय कदमको विरोध गरेका छन्। नेपाली पक्षले आफ्नै भूमिमा सडक बनाउन इँटा राख्दा समेत भारतीयले त्यसलाई वाधा पुर्याउने काम गरेको टिप्पणी गर्दै उनले भारतलाई तत्काल काम रोक्न चेतावनी दिएका छन्।