काठमाडौँ– विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा रहेको शान्तिपुर मन्दिरको जीर्णोद्धार रू चार करोडको लागतमा सम्पन्न भएको छ। भूकम्पका कारण ठूलो क्षति पुगेको उक्त सम्पदा जोखिममा परेपछि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले मन्दिरको जग तथा चारैतर्फको पर्खाल भत्काएर जीर्णोद्धारका साथै आवश्यक स्थानमा पुनःनिर्माणसमेत गरेको हो।
स्वयम्भूको संरक्षण तथा व्यवस्थापनमा सक्रिय महासमितिका महासचिव महेन्द्ररत्न बज्राचार्यले स्वदेशी तथा विदेशी दातृ संस्थाबाट सङ्कलन गरेको आर्थिक स्रोतबाट खर्च गरिएको जानकारी दिए। उनका अनुसार तन्त्रको दीक्षा लिएका डकर्मी, सिकर्मीलगायत जनशक्तिबाट निर्माण गर्नुपर्ने उक्त सम्पदामा तान्त्रिक देवी भएकाले विशेष पूजा गरिनेछ। केही गोप्य कागजपत्र, तान्त्रिक पूजाका अभ्यास र तान्त्रिक देवदेवीको साधना विधि राखिएका छन्।
उक्त सम्पदा कहिले निर्माण भएको भनेर यकिनका साथ भन्न सकिँदैन, सर्वसाधारणलाई भित्र जान प्रतिबन्ध गरिएको छ। शान्तिपुरभित्र भएका भित्तेलेखन मल्लकालीन समयसँग मिल्दोजुल्दो पाइएकाले आठौँदेखि १२औँ शताब्दीको बीचमा सो मन्दिर निर्माण भएको विश्वास गरिएको छ। स्वयम्भू महाचैत्यदेखि करीब ३०० मिटरको दूरीमा रहेका उक्त सम्पदा काठमाडौँ महानगरपालिका–१५ मा पर्छ ।
सम्पदा प्राचीन भए पनि पछिल्लो समय विकास भएका प्रविधिको प्रयोग गरी मर्मतसम्भार गरिएको छ। स्वयम्भू तथा त्यस वरपर क्षेत्रमा शान्तिपुर, अग्निपुर, वायुपुर, नागपुर, अनन्तपुरलगायत महत्वपूर्ण सम्पदा छन्। अग्निपुर, शान्तिपुर, प्रतापपुर र पुरानो तामाङ गुम्बा पूर्णरूपमा भत्किएका सम्पदा हुन्।
पुरातत्व विभागका अनुसार २०७२ को भूकम्पमा परी कूल ७५३ चैत्य, मन्दिर तथा गुम्बलगायत सम्पदामा क्षति पुगेको थियो। देशभर भूकम्पबाट क्षतिग्रस्त भएका विभिन्न धार्मिक तथा पुरातात्विक महत्वको बौद्ध, चैत्य, गुम्बा तथा मठमन्दिरको जीर्णोद्घार कार्यले गति लिन सकेको छैन। (रासस)