काठमाडौं–भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रस्थित चन्द्रविनायक मन्दिर निर्धा्रित समयमा पुनःनिर्माण नसकी थप गरिएको तीन महीना बित्न लाग्दा पनि काम शुरु हुन सकेको छैन। विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्प एवं पटकपटकको परकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माणका लागि २०७५ असार २४ गते सम्झौता भएको थियो।
गत असार मसान्तमा पुनःनिर्माण सकिनुपर्ने मन्दिरको आधा काम पनि नसकिइ अलपत्र बनेको छ। निर्माण व्यवसायी र सरोकार भएका निकायको मिलेमतोमा मन्दिर पुनःनिर्माण नगरी अलपत्र राखिएको भक्तजन रामचन्द्र देवकोटाले गुनासो गरे। पुनःनिर्माण अलपत्र हुँदा प्रत्येक हप्ताको मङ्गलबार मन्दिरमा पूजा एवं दर्शनका लागि आउने दर्शनार्थी प्रभावित हुने गरेको उनले सुनाएका छन्।
उपत्यकाका चार विनायकमध्येको एक चन्द्रविनायक मन्दिर पशुपति क्षेत्रकै एक महत्वपूर्ण सम्पदा हो। मन्दिर पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक सहयोगमा पशुपति क्षेत्र विकास कोषले ठेक्का लगाएको हो। रु एक करोड ४३ लाख ४१ हजार १६० लागतमा श्री पिआर कन्स्ट्रक्सन प्रालीले मन्दिर पुनःनिर्माणको काम गरिरहेको छ।
एक दिन काम भए दुई महीनासम्म कामदार नदेखिने गरेकाले काममा वर्षौं लाग्नसक्ने देखिएको स्थानीय रमिता पौडेल गुनासो गर्छन्। कोषका निर्देशक भरत मरासिनी पुरातत्व विभागको सुझावअनुसार नयाँ काठमा बुट्टा भर्न केही समय थप लागेको बताउछन्। आगामी पुस मसान्तसम्म मन्दिर पुनःनिर्माण भइसक्ने कोषले जनाएको छ। (रासस)