पोखरा _चालु आर्थिक वर्षको तीन महिनामा कास्कीबाट २ सय ३२ जुवाडे पक्राउ परेका छन्। उनीहरुबाट २० लाख ३६ हजार ५ सय १६ रुपैयाँ रकम बरामद भएको छ। जुवा खेल्नेमा पुरुषसँगै महिला पनि छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार साउन, भदौ र असोजमा मात्रै जुवाखालबाट २१७ पुरुष र १५ जना महिला पक्राउ परेका छन्। प्रहरीले उनीहरुसहित जुवाको खालबाट साउनमा ५ लाख ८१ हजार, भदौमा ५ लाख ५९ र असोजमा ८ लाख ९५ हजार रुपैयाँ समेत बरामद गरेको छ।
गएको शनिबार मात्रै पोखरा महानगरपालिका २ अधिकारी टोलस्थित राज बहादुर गुरुङको घरबाट झन्डै ३० हजार रुपैयाँसहित ४ जना पक्राउ परेका छन्।
आइतबार पनि कास्की प्रहरीले वडा नंं १३ स्थित काहुँखोलाबाट ४९ हजार रुपैयाँसहित ७ जना जुवाडे पक्राउ गरेको छ। काहुँखोलाको बुडुवा मार्गमा विष्णुमाया गुरुङको घरमा जुवा खेलिरहेका ७ जनालाई प्रहरीले पक्रेको हो।
दिन नै वडा नं.२ को भैरवटोलको भुपिमार्गमा जुवा खेलाउने अशोक माईति पक्राउ परे। उनीसँगै उनको घरमा तास खेल्ने अन्य पाँच जना र ३७ हजार रुपैयाँ नगद प्रहरीले बरामद गरेको छ।
गोप्य सूचनाको आधारमा छापा मार्दा उक्त रकम भेटिएको प्रहरीले जनाएको छ। चाडवाडको बेलामा जुवा मुद्दामा पक्राउ पर्ने क्रम बढेको छ। जुवाडेहरुले घर देखि होमस्टे पनि बुकिङ गरेर जुवाखाल बनाउने गरेका छन्।
आइतबार कै दिन वडा नं. १८ को चालिसेचोकमा रहेको डेष्टिनेशन होमस्टेबाट ६ लाख १० हजार रुपैयाँसहित १५ जना जुवाडे पक्राउ परेका छन्। होमस्टेका सञ्चालक जनक पराजुली भने थिएनन्। उक्त होमस्टेलाई धु्रव बहादुर थापाले भाडामा लिएर कौडा खेलाएका थिए। घटना यतिमात्र भए, प्रहरी आएको थाहा पाए भाग्ने क्रम जुवाडे घाईते समेत हुन पुगे।
भाग्ने क्रममा खुट्टा नै फ्याक्चर भएका विमल देवकोटा अहिले मेट्रोसिटी हस्पिटलमा उपचार गराई डिष्चार्ज भएका छन्।
जुवा मुद्दामा पक्राउ परेका सबैलाई जुवा तथा कौडा मुद्दा अन्तरगत म्याद थप गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक नरहरि अधिकारीले जानकारी दिए।