काठमाडाैं — सरकारले विदेशमा बनेका पेय पदार्थ तथा तयारी खानेकुराको आयातमा कडाइ गरेपछि नेपालको छिमेकी मुलुक बाङ्ग्लादेशबाट त्यस्ता खानेकुराको आयात निकै कम भएको अधिकारीहरूले बताएका छन्।
नेपालको पूर्वी नाका मेचीबाट हुने यस्ता वस्तुको आयात करिब शून्यमा झरेको छ। सरकारले त्यस्ता पेय पदार्थ तथा तयारी खानेकुराको भन्सार राजश्वमा ५० प्रतिशतसम्म वृद्धि गरेको भन्सार कार्यालयका अधिकारीहरूले बताए। बाङ्ग्लादेशबाट आयात गरिने सामानहरूमा जुसलगायतका पेय, बिस्कुट, चकलेट र ब्याट्री पर्छन्।
कमी
मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५र७६ को साउन र भदौ महिनामा बाङ्ग्लादेशबाट करिब ३८ लाख लिटर पेय पदार्थ आयात भएको थियो। त्यस्तै विभिन्न प्रकारका क्यान्डी, चकलेट, बिस्कुट, केक र चिप्सजस्ता वस्तुको आयात पनि अत्यधिक थियो।
तर चालू आर्थिक वर्षको दुई महिनामा क्यान्डी, चकलेट, बिस्कुट, केक र चिप्सजस्ता वस्तुको खासै आयात नभएको कार्यालयले जनाएको छ।
जुसको आयात पनि ह्वात्तै घटेको छ।
चालू आर्थिक वर्षको साउन र भदौ महिनामा एक लाख ८१ हजार दुई सय लिटर मात्र विभिन्न फलफूलका जुस आयात भएको छ।
भन्सार वृद्धि
बाङ्ग्लादेश र नेपालबीच व्यापार हुने प्रमुख नाका नाका काँकरभिट्टा नै हो। बाङ्ग्लादेशसँग व्यापारका लागि नेपालले १२ वर्षदेखि भारतको पश्चिम बङ्गालको फूलबारी तथा बाङ्ग्लादेशको बङ्गलाबन्ध नाका प्रयोग गर्दै आएको छ।
नेपाल सरकारले भन्सार राजश्वमा अत्यधिक वृद्धि गरेका कारण त्यस्ता वस्तु बजारमा महँगो पर्न गएकाले आयातकर्ताहरूले आयात नगरेको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले बताए।
उनले भने, ‘अहिले सरकारले विदेशी तयारी खानेकुरामा भन्सार राजश्वमा ५० प्रतिशतसम्म वृद्धि गरेका कारण सामान आयात गर्नेहरूले सामान ल्याइरहेका छैनन्।’ ‘विगतको तुलनामा ठूलो मात्राको भन्सार राजश्व गुमेको छ।’
नेपाली सामानमा आकर्षण
बाङ्ग्लादेशसँगको व्यापारमा ठूलो मात्राको राजश्व गुमाउनु परे पनि बजारमा भने नेपाली उत्पादनको बिक्री बढेको व्यापारीहरू बताउँछन्। उनीहरूका अनुसार पहिला बाङ्ग्लादेशबाट आयात गरिएका सामान नेपालीभन्दा सस्ता हुन्थे।
अहिले बाङ्ग्लादेशबाट आयात गरिने गरिएका सामान नपाइने तथा पाइए पनि महँगो पर्ने भएकाले नेपाली सामान ग्राहकले किन्ने गरेको काँकरभिट्टामा कोल्ड स्टोर सञ्चालन गरिरहेकी व्यापारी गोमा पोखरेलले बताइन्।
उनले भनिन्, ‘पहिला उताकै सामान सस्तो हुन्थ्यो। अहिले पाइँदैन, पाए पनि महँगो छ। अहिले त नेपालकै सामान बेच्छौँ।’ तर कतिपय सीमा क्षेत्रका बासिन्दा भने भारतीय उत्पादनमा आकर्षित भएको अर्की व्यापारी निर्मला कोइरालाले बताइन्।
आयातकर्ताको गुनासो
सरकारले विदेशमा बनेका सामानमा बढाएको भन्सारका कारण सामान आयात गर्न नसकिएको बाङ्ग्लादेशबाट सामान आयात गर्नेहरू बताउँछन्। नेपालका उत्पादनलाई प्राथमिकता दिन सरकारले यसो गरेको हुनसक्ने बुझेका उनीहरूले आफ्नो चाहिँ लगानी डुबेको बताउने गरेका छन्।
बाङ्ग्लादेशबाट सामान आयात गर्ने व्यवसायी केशव पाण्डेको अहिले व्यापार निकै खस्केको छ। अर्का व्यवसायी मोहन निरौला भन्छन्, ‘महँगो पर्ने भएपछि आयात गर्न सकिएको छैन।’ ‘सामान दिन नसकेपछि बजारको करोडौँ लगानी उठाउन सकिएको छैन।’ बीबीसी बाट