सिरियाको उत्तरी सीमामा टर्कीले गरेको आक्रमणको प्रतिकार गर्न बशर अल(असदको सरकार सेना परिचालन गर्न सहमत भएको सिरियाली कुर्दहरूले बताएका छन्।
त्यसको केहीअघि सिरियाको सरकारी सञ्चारमाध्यमले सरकारी फौज देशको उत्तरी सीमामा पठाइएको बताएको थियो।
सिरियामा जिहादी समूह इस्लामिक स्टेटलाई परास्त गर्ने अमेरिकी अभियानमा कुर्द नेतृत्वको सिरियन डेमक्रेटिक फोर्सेस (एसडीएफ) ले सघाएको थियो।
तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा विवादास्पद कदमका रूपमा त्यहाँको जटिल परिस्थितिमा आफ्नो सेना फिर्ता गर्ने निर्णय गरेका थिए।
सहमति
कुर्द नेतृत्वको प्रशासनका अनुसार सिरियासँग भएको सहमतिअनुरूप उत्तरी सिरियाको पूरै सीमामा सिरियाली सैनिकहरू परिचालित हुनेछन्।
सिरियाली सेनाले एसडीएफलाई टर्कीको आक्रमणको प्रतिकार गर्न तथा टर्कीको सेना तथा उसले खटाएका अन्य लडाकुलाई हटाउन सघाउने उसको अपेक्षा छ।
कुर्द प्रशासनले यो कदमले “टर्कीले कब्जा गरेका सिरियाली सहरहरूलाई मुक्त गर्न सघाउने“ बताएको छ।
टर्कीले सिरियामा आक्रमण गर्दा कम्तीमा एक लाख मानिस विस्थापित
टर्कीद्वारा उत्तरी सिरियामा सैन्य कारबाही आरम्भ
अमेरिकाको संरक्षण गुमाएपछि कुर्दहरूले सिरियासँग गरेको यो गठबन्धनलाई महत्त्वपूर्ण मानिएको छ।
तर सिरिया सरकारले उनीहरूसँग कस्तो वाचा गरेको छ त्यसबारे थाहा भइसकेको छैन।
आक्रमण
अमेरिकी सेना सिरियाबाट फर्किएपछि टर्कीले गत साता कुर्दहरूविरुद्ध आक्रमण सुरु गरेको हो।
टर्कीको सेनाले एसडीएफको नियन्त्रणमा रहेका क्षेत्रमा स्थल तथा हवाई आक्रमण गरिरहेको छ।
सिरियामा जिहादी समूह इस्लामिक स्टेटलाई हराउने क्रममा कुर्दहरू मुख्य अमेरिकी सहयोगीका रूपमा थिए
यो सप्ताहान्तमा सिरियाका सीमावर्ती मुख्य दुई सहरमा टर्कीले नियन्त्रण कायम गरेको छ।
सङ्घर्षका क्रममा दुवैतिर दर्जनौँ सर्वसाधारण र लडाकुहरू मारिएका छन्।
टर्कीले सिरियामा आक्रमण गर्दा कम्तीमा एक लाख मानिस विस्थापित
टर्कीद्वारा आक्रमण तेज, दशौँ हजारको भागाभाग
टर्कीद्वारा उत्तरी सिरियामा स्थल आक्रमण
सिरियन अब्जर्भटरी फोर ह्यूमन राइट्सका अनुसार अहिलेसम्म ५० सर्वसाधारण र १०० सय भन्दा बढी कुर्द लडाकु मारिएका छन्।
टर्कीले ४४० कुर्द लडाकुको मृत्यु भएको दाबी गरेको छ। आफूतर्फ १८ जना सर्वसाधारण र चार सैनिक मारिएको उसको भनाइ छ।
एसडीएफले भने आफ्ना ५६ लडाकुको मृत्यु भएको बताएको छ।
सङ्घर्ष चर्किएकै बेला आइतवार इस्लामिक स्टेट (आईएस) का सदस्यका ८०० नातेदारहरू ऐन इस्सास्थित एउटा शिविरबाट भागेका छन्।
टर्की के चाहन्छ?
सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएपछि उत्तरी सिरियाको अधिकांश भाग सिरियाली सरकारको नियन्त्रणमा छैन। सन् २०१५ देखि त्यहाँ एसडीएफको नियन्त्रण थियो।
इस्लामिक स्टेट समूहविरुद्ध अमेरिकाले गरेको सङ्घर्षमा एसडीएफले सघाएको थियो। तर टर्कीले एसडीएफलाई टर्की्विरुद्ध विद्रोहको समर्थन गर्ने “आतङ्कवादी“ मान्छ।
आफूले गरेको आक्रमण कुर्द लडाकुहरूलाई धपाएर “सुरक्षित क्षेत्र“ निर्माण गर्ने प्रयास भएको भन्दै टर्कीले सैन्य कारबाहीको प्रतिरक्षा गरेको छ।
अङ्करा हाल टर्कीमा रहेका ३० लाखभन्दा बढी सिरियाली शरणार्थीलाई पुर्नस्थापित गराउन चाहन्छ। तीमध्ये धेरैजसो गैरकुर्द छन्।
बुधवारदेखि सुरु भएको आक्रमणमा दुवैतर्फ दर्जनौँ सर्वसाधारण र लडाकुहरूको मृत्यु भएको छ
टर्कीले सीमापारि सिरियामा कुर्दहरूको नियन्त्रण रहेको क्षेत्रमा आक्रमण थालेपछि झन्डै एक लाख मानिसहरू घर छोडेर भाग्न बाध्य भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।
अन्य सहायता समूहहरूले झन्डै साढे चार लाख मानिहरू घर छोडेर भाग्न बाध्य भएको दाबी गरेका छन्।
कतिपय आलोचकहरूले टर्कीको कदमबाट स्थानीय कुर्द जनसङ्ख्याको जातीय नरसंहार हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
टर्कीका राष्ट्रपतिले अहिलेसम्म २१ गाउँसमेत १०९ वर्ग किलोमिटर क्षेत्र आफ्नो नियन्त्रणमा लिइसकिएको आइतवार बताएका छन्।