काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने भएका छन्। कम्तिमा पनि ६ जना मन्त्रीलाई ओलीले हटाउने गरी मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको भनेर अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई बताएका छन्।
सोमबार बिहान बालुवाटारमा भएको भेटवार्तामा ओलीले प्रचण्डलाई मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको जनाएका हुन्। नेकपा सचिवालयले मन्त्रीमण्डल पुनर्गठनबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री ओलीलाई नै दिएको थियो।
प्रधानमन्त्री ओलीले सोमबार बिहान बालुवाटारमा भएको बैठकमा बर्खास्तीमा पर्ने भनेर ८ जना मन्त्रीको नाम पढेर प्रचण्डलाई सुनाएका थिए। प्रचण्डले केही मन्त्रीको विषयमा फेरि सोच्न भनेपछि २ जनाको जिम्मेवारी हेरफेर गर्ने र ६ जनालाई बर्खास्त गर्न सकिने विकल्पबारे छलफल भएको थियो।
प्रधानमन्त्री ओलीले शुरुमा सबै मन्त्रीलाई राजीनामा दिन लगाएर मन्त्रीमण्डल पुनर्गठन गर्ने प्रस्ताव राखेको स्रोतले जानकारी दिएकाे छ। स्रोतका अनुसार प्रचण्डले सबै जनाको राजीनामा माग्दा उपयुक्त नहुने भनेपछि प्रधानमन्त्रीले ८ जनाको नाम पढेर सुनाए।
स्रोतले प्रधानमन्त्री ओलीले मन्त्रीहरु मात्रिका यादव, लालबाबु पण्डित, थममाया थापा, बिना मगर, युवराज खतिवडा, चक्रपाणी खनाल, शक्ति बस्नेत र रघुबीर महासेठको नाम पढेर सुनाएको जनायो। तर, प्रचण्डले केही मन्त्रीको विषयमा पुर्नविचार गर्नुपर्ने भनेपछि प्रधानमन्त्री ओलीले २ जनाको जिम्मेवारी हेरफेर गर्न सकिने विकल्प सुनाए।
स्रोतका अनुसार प्रचण्डले जवाफमा सचिवालय बैठकबाट निर्णय लिँदा उपयुक्त हुने बताए। प्रचण्डले सचिवालयको बैठक बोलाउने प्रस्ताव गरेपछि प्रधानमन्त्री ओलीले पनि तत्कालै सचिवालय बैठक बोलाउने विषयमा सहमति जनाए। दुवै नेताको सहमतिअनुसार सोमबार साँझ ५ बजेका लागि पार्टी सचिवालयको बैठक बोलाइएको बालुवाटार स्रोतले बताएकाे छ।
प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा भाग लिन कात्तिक ७ गते अजरबैजान जान लागेका छन्। ओली अजरबैजान जानुभन्दा अगाडि नै मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारीमा रहेका बालुवाटार स्रोतले बताएकाे छ।