काठमाडौं — सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २९ गते चियापान कार्यक्रम गर्ने भएको छ। कार्यक्रमका लागि सम्पुर्ण तयारी पुरा भएको बताएको छ।
दसैँ, तिहार, नेपाल सम्वत, इद, छठ, ल्होसारलगायत महत्त्वपूर्ण चाडपर्वका अवसरमा नेकपाले चियापान कार्यक्रम आयोजना गर्ने भएको हो। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले कोजाग्रत पूर्णिमाकै दिन चियापानको आयोजना गरेको थियो।
चियापानका लागि १ लाख निमन्त्रणा कार्ड समेत बाँडिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिएका छन्। कार्यक्रममा विदेशी पाहुना पनि डाकिएको छ। ‘नेपालस्थिल विदेशी कूटनीतिक नियोग प्रमुख, दूतावासका कर्मचारी, नेपालमा कार्यरत अन्तर्रा्ष्ट्रिय मिसन प्रमुखहरू समेतलाई निम्त्याइएको छ,’ उनले भने।
मनमोहन अधिकारी पार्टी अध्यक्ष हुँदा नेकपा एमालेले सुरू गरेको चियापान कार्यक्रमलाई नेकपाले पनि निरन्तरता दिएको हो। चियापान कार्यक्रममा मुख्य राजनीतिक दलका नेतृत्व, उच्च पदस्थ सरकारी अधिकारी, चारैवटा सुरक्षा निकायका प्रमुख, कलाकार, साहित्यकार आदिलाई निम्तो पठाइएको ढकालको भनाइ छ।
२०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर वीपी कोइराला स्वदेश फर्किएपछि सुरू गरेको चियापान कार्यक्रम अहिले संस्कृति नै बनेको छ। काङ्ग्रेसको चियापान अघिल्ला वर्षभन्दा निकै व्यवस्थित भएको भन्दै प्रशंसा भएको थियो।