मकवानपुर – मकवानपुरको थाहा नगरपालिका–५ को वडा कार्यालयमा नचिनेका मानिसको समूहले आगजनी गरेको छ।
आरनडाँडामा रहेको वडा कार्यालयमा आइतबार मध्यरातमा आगजनी गरिएको वडाध्यक्ष विष्णुबहादुर गुरुङले जानकारी दिए। उनले भने, ‘ढोका फुटाएर पेट्रोल र मट्टितेल छर्केर आगो लगाइएको छ। विद्युत् मिटर बक्स फुटेको आवाजपछि गाउँलेले थाहा पाएका थिए।’
स्थानीयले आगो निभाएर जनप्रतिनिधिलाई खबर गरेको वडा सदस्य चमेली वाइबाले जानकारी दिए। ‘कार्यालय पूर्णरुपमा ध्वस्त भएको छ, केही बाँकी छैन,’ वाइबाले भने।
वडा कार्यालयका सबै कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ। आगजनीको कुनै समूह तथा व्यक्तिले जिम्मा लिएको छैन।
गएको बिहीबार राति पनि थाहा नगरपालिका–३ को शिखरकोटमा पार्किङ गरेर राखिएका टिप्पर र एक्स्काभेटरमा नचिनेको मानिसको समूहले आगजनी गरेका थिए।
थाहा उद्योग वाणिज्य संघको भवननजिक पार्किङ गरेर राखिएको बा ३ क १२१५ नम्बरको टिप्पर र ना १ क ३२४२ नम्बरको एक्स्काभेटर आगजनी गरेर क्षतिग्रस्त बनाइएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। अटोमा चढेर आएका व्यक्तिहरुले आगजनी गरेर भागेको स्थानीयले बताएका छन्।