काठमाडौं– यौन दुर्वव्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई भोली (मंगलबार) मात्र अदालतमा उपस्थित गराईने भएको छ।
आज (सोमबार) अदालत बन्द हुने भएका कारण मंगलबार (भोलि)मात्र महरालाई अदालतमा उपस्थित गराइने भएको हो। यसअघि आज महरालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने तयारी भएको थियो।
पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधन भएका कारण एक दिन अदालत बन्द गर्ने प्रचलनस्वरुप आज देशभरका सवै तहका अदालत र न्यायाधीकरणमा शोक बिदा दिइएको सर्वोच्च अदालतले जनाएको छ। पूर्व प्रधानन्यायाधीश उपाध्यायको गत असोज १० गते निधन भएको थियो।
संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई करणी गरेको आरोप लागेको आरोपमा उनी पक्राउ परेका थिए। निवर्तमान सभामुख महरालाई असोज १९ गते आइतबार साँझ प्रहरीले बालुवाटारबाट पक्राउ गरेको थियो।
दशैंको सार्वजनिक विदामा भने उनलाई अदालत उपस्थित गराइएको थिएन।
प्रहरी थुनामा रहेका महराको स्वास्थ्य अवस्था बिग्रिएपछि नर्भिक अस्पतालमा भर्ना गरि उपचार थालिएको छ। नर्भिकमै रहेका महरालाई प्रहरीले मंगलबार अदालतमा उपस्थित गराउने छ।