काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपाल लगायतका दल तथा संगठनहरुसँग एकताको विषयमा छलफल गर्न समाजवादी पार्टीले आज केन्द्रीय समितिको बैठक बोलाएको छ।
बालकुमारीस्थित पार्टी कार्यालयमा बोलाएको बैठकमा राजपा नेपाल लगायतका पार्टी तथा संगठनहरुसँग एकता तथा ध्रुवीकरणका बारेमा पनि छलफल हुने समाजवादी पार्टीका प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए।
राजपा नेपालसँग हालसम्म भएको छलफलका प्रगतिबारे पार्टीका दुईजना अध्यक्षले आजको बैठकमा जानकारी गराउने र त्यसमा अन्य नेताहरुको पनि राय दिनेछन्। त्यसपछि यो एकता प्रकृयालाई कसरी अगाडि बढाउने विषयमा छलफल हुने उनले बताए।
दुई दलको बीचमा लामो समयदेखि एकताको प्रयासस्वरुप वार्ता भइरहेको छ। तर हालसम्म केही टुंगो लागेको छैन।
साथै बैठकमा तत्कालीन नयाँ शक्ति नेपाल र समाजवादी पार्टीबीच भएको एकतापछि समायोजनका के कति काम भएको छ, त्यसको बारेमा पनि छलफल हुनेछ। समायोजनका बाँकी रहेका कामलाई पूर्णता दिनेबारे पनि छलफल हुने उनले बताए।
पार्टी समायोजन र राष्ट्रिय जनता पार्टी नेपालसँगको एकताको विषय टुंगो लागेपछि पार्टी महाधिवेशनको अर्को नयाँ मिति तोक्ने उनले बताए। यसअघि असोज २९, ३० र ३१ गतेका लागि महाधिवेशनको मिति तय गरिएको थियो। हाललाई महाधिवेशन स्थगित भएको छ।