डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिका–६ भजनेउटामा रहेको कुटीमा बस्दै आएका साधुको शंकास्पद मृत्युको घटनाको अनुसन्धानका लागि प्रहरीले तीन जना किशोरलाई नियन्त्रणमा लिएको छ।
४०–४५ वर्ष अगाडिदेखि कुटीमा बस्दै आएका अन्दाजी ७५ वर्षीय उमाशंकर गिरी नामका साधुको गत बुधबार बेलुकी उनकै कुटीमा शंकास्पद अवस्थामा शव फेला परेको थियो। शनिबार अन्दाजी वर्ष १४ र १६ का स्थानीय २ जना किशोरलाई नियन्त्रणमा लिएको थियो। सोही घटनामा संलग्न भनी आइतबार १४ वर्षीय अर्का स्थानीय किशोरलाई पक्राउ गरिएको छ।
भागेर बैतडी र डडेल्धुराको सीमानामा लुकिछिपी बसेपछी उनलाई नियन्त्रणमा लिइ कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब निरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। उनका अनुसार बालबालिका ऐन २०७५ को दफा ११ बमोजिम पक्राउ परेकाहरुको नाम, थर नखुलाइएको हो। गिरीको शव भेटिएको स्थानमा ढुंगामा रगत पनि भेटिएपछि उनको मृत्यु शंकास्पद बनेको हो।
प्रहरी नायब निरीक्षक न्यौपानेले भने, ‘नियन्त्रणमा लिएका व्यक्तिहरु असोज २१ गते घट्नास्थल नजिकै कोटेलीमा रहेको पसलमा मदिरा सेवन गरी हो–हल्ला गर्दै मृतकको कुटीमा गइ फर्कने क्रममा नजिकै सडकमा गिरीसँग भेट भएको र विवाद भएकोमा गिरीलाई १६ वर्षका किशोरले ढुंगा प्रहार गरेको र गिरी भागेर आफ्नो कुटीमा प्रवेश गरी लुकेको र पक्राउ परेकाहरूले लखेट्दै गई पुनः ढुँगा प्रहार गरी सो स्थानबाट भागी आ–आफ्नो घर गएको प्रारम्भिक बयानबाट खुल्न आएको छ।’
नियन्त्रणमा लिइएका किशोरहरूमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले जानकारी दिए।