काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण सफल भएको समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले बताएका छन्।
अध्यक्ष भट्टराईले नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा मित्र राष्ट्रहरुसँगको सम्बन्ध राजनीतिक र समग्र सामरिक हितलाई ध्यानमा राख्नुपर्ने बताए। डा भट्टराईले मुलत चिनियाँ राष्ट्रपति सीको भ्रमण सफल नै भएको बताए। विदेशी पाहुना आउँदा खालि केटाकेटीले मामा आउँदा मामाले के ल्याइदिए, के कति मिठाइ दिए, कति दक्षिणा दिए भनेजस्तो सोच राख्नु नहुने उनको भनाई छ।
चीन सदैव नेपालको मित्र राष्ट्र रहँदै आएको भन्दै भट्टराईले चीनसँग खास समस्या नभएको र त्यस अर्थमा पनि सीको भ्रमण सुखद् रहेको प्रतिक्रिया दिए। फरक प्रसंगमा डा भट्टराईले पूर्व सभामुख कृष्णबहादुर महरा प्रकरणमा न्याय र सत्य स्थापित हुनुपर्ने बताए।
‘जुनसुकै ओहोदामा रहेपनि विधिको शासन पालना गर्नुपर्छ। न्याय र सत्य स्थापित हुनुपर्छ भन्ने हाम्रो मान्यता छ’ उनले भने,‘पहिले त्यसको निरुपण होस्। त्यसपछि मात्र सभामुखको विषयमा टिप्पणी गर्न उपयुक्त होला।’ उनले सभामुख र उपसभामुख फरक पार्टीको र फरक लिंगको हुनुपर्ने पनि बताए।