काठमाडौं– प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको बडा दसैंका अवसरमा सोमबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन्।
प्रहरी महानिरीक्षक खनालले पूजाअर्चनाको क्रममा बली पूजा गर्नुको साथै निसानमा पञ्जा छाप समेत लगाए। साथै प्रहरी महानिरीक्षक खनालले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी सहायक निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई नगद पुरस्कार प्रदान गरे।
त्यस्तै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरुले मौलो परिक्रमा गरेका थिए। पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो। सो अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहण पनि गरिएको थियो।
नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो। जसमा दुई वटा निशान रहेका हुन्छन्। मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ। नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ।
संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ। नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्त गरेपश्चात हरेक वर्ष बडा दसैं र चैते दसैंमा निरन्तररुपमा मौलो पूजा गर्दै आएको छ।