म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङमा एक परिवारले आफ्ना दिवङ्गत अभिभावकको स्मृतिमा ऐतिहासिक कोतघरको पुनःनिर्माण गरेका छन्। स्वर्गीय कुलप्रसाद, मणिमा र गर्भी घरब्जा छन्त्यालका छोरा, छोरी र बुहारीले व्यक्तिगत खर्चमा कोतघरको पुनःनिर्माण गरेको हो।
छोरा भक्तबहादुर र किशोर, छोरी हरिकला, बुहारी चीजमाया र चन्द्रकुमारी घरब्जा छन्त्यालले कोतघर पुनःनिर्माणमा छ लाख पाँच हजार रुपैयाँ खर्च गरेको स्थानीय रबिन्स छन्त्यालले जानकारी दिएका छन्। कोतघरमा फुलपातिका दिनदेखि धार्मिक विधि अनुसार पूजाआजा शुरु गरिएको छ।
बाइसे चौबिसे राज्यका पालामा छन्त्याल समुदायको राजाले सो कोतघर स्थापना गरेका थिए। कोतघरमा ऐतिहासिक महत्वका खुडा, तरबार, खुकुरी लगायत हतियार थिए।
जीर्ण र असुरक्षित भवनभित्र रहेका ऐतिहासिक सामग्री संरक्षण अभावमा नष्ट हुने अवस्थामा पुगेका थिए। कोतघर बनेपछि ऐतिहासिक सम्पदाको संरक्षणका साथै धार्मिक पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छन्त्यालले जानकारी दिएका छन्। (रासस)