काठमाण्डौं– जनप्रतिनिधि र स्थानीयबासिन्दाले खुलामञ्चमा बनाउन लागिएको ढलान भत्काइदिएका छन्।
खुलामञ्च मासेर स्थायी बसपार्क बनाउने षड्यन्त्र भैरहेको भन्दै सांसद भीमसेनदास प्रधान, काठमाण्डौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गीसहितका स्थानीयबासीले खुलामञ्च पुगेर ढलान भत्काइदिएका हुन्। उनीहरुले वरपरको बार पनि तोडफोड गरेका छन्।
पहिलेको पुरानो बसपार्कमा काठमाण्डौ भ्यू टावर बनाउने भएपछि २ वर्षअघिदेखि पुरानो बसपार्क खुलामञ्चमा सारिएको छ। तर खुलामञ्चलाई स्थायी बसपार्क बनाउने षड्यन्त्र गरेर स्थायी संरचना बनाउन थालिएको भन्दै विरोध भैरहेको छ।
सांसद भिमसेनदास प्रधान, उपमेयर हरिप्रभा खड्गीलगायतले काठमाडाैंमा खुला स्थान मास्ने षड्यन्त्रलाई कुनै पनि हालतमा पूरा हुन नदिने प्रतिबद्धता जानकारी दिएका छन।
‘अहिलेसम्म पुरानो बसपार्कमा भ्यू टावर पनि बनेको छैन, तर मेयर विद्यासुन्दर शाक्यले भ्यू टावर नबनाउने स्वच्छन्द बिल्डर्स प्रालिका प्रमुख मनोज भेटवाललाई पटक पटक खुला मञ्चमा टहरा बनाउन र ढलान गर्न ठेक्का दिएका छन्, खुलामञ्च बेच्ने नियत देखियो, हामी त्यसो हुन दिन्नौँ’, सांसद भिमसेनदास प्रधानले भने।