काठमाडौं– यौन दूराचारको आरोप लागेका कृष्णबहादुर महराको प्रकरणले नयाँ मोड लिएको छ। पहिले यौन दुर्व्यवहार भएको आरोप लगाउन पीडित महिलाले भोलिपल्टै महरा बुबा समान भएको बताए पनि उनैले फेरि प्रहरी कहाँ उजुरी दिएकी छन्।
प्रहरी एक अधिकारीले पीडित भनिएकी महिलाले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा उजुरी दिएकी बताएका छन्। शुक्रबार पीडित महिला रोशनी शाहीले किटानी जाहेरी दिएकी हुन्। महराले गत आइतबार राति आफूलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी शाहीले भोलिपल्ट भने त्यस्तो केही नभएको जनाएकी थिइन्।
स्रोतले घटना भएको छैटौं दिन बानेश्वर प्रहरी वृत्तमा भएको लामो छलफलपछि उजुरी दर्ता भएको बताएको छ। प्रहरीको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको छ।
यसअघि रोशनी र उनका श्रीमानले सम्बन्ध विच्छेदको प्रक्रिया शुरु गरेको बताएका थिए। उच्च प्रहरी स्रोतको अनुसुार रोशनी र उनका श्रीमान् दुवै आएर बिहीबार उजुरी दिएर गएका छन् र बिहीबार नै रोशनीको त्रिवि शिक्षण अस्पतालमा मेडिकल परीक्षण समेत गरिएको छ।
महराविरुद्ध उजुरी परेपछि अब उनी पक्राउ पर्ने सम्भावना बढेको छ।