भक्तपुर– कम्युनिष्टको नाममा कलंक नबन्न पार्टीका नेता कार्यकर्तालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले आग्रह गरेका छन्।
शनिबार भक्तपुरमा पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले विगतमा गल्ती गरेको भए सच्चिएर अघि बढने तर बदनाम र कलंक बनेर नबस्ने बताए।
पार्टीको अग्नी परीक्षा शुरु भएको नेता नेपालले जनाए। उनको अनुसार वडा, नगर, प्रदेश र संघले गरेका कामको जनताले मूल्यांकन गरिरहेकाले हिजो के भयो भन्ने भन्दा पनि आफ्नो कमजोरी स्वीकार गर्नुको विकल्प छैन। नेपाल र नेपालीको शान र इज्जत बढाउनका लागि जनताको आधारभूत आवश्यकता पूरा गर्नु नै सरकारको दायित्व भएको उनको भनाई छ।
आफ्नो सिद्धान्तमा निष्ठावान भएर जात, भूगोल, आफन्त, अनुहार हेरेर, रगत खकार जाँचेर नभई कम्युनिष्टले वर्गको आधारमा प्राथमिकतामा राख्नु पर्ने उनले बताए।उनले भने, ‘विधि, मापदण्ड र मूल्याकंन गर्ने काम कम्युनिष्टहरुको हो।’ उनले काम नगर्ने तर पदको लोभ गर्नेलाई त्यो बानी त्याग्न आग्रह गरे। मदिरापान गर्ने बानीले धेरै कुराको हानी गर्ने भन्दै उनले सकेसम्म मासु पनि कम खाएर चाडपर्व मनाउन आग्रह गरे।
कार्यक्रममा नेकपाका नेताहरु लिलामणी पोखरेल, दिलिप प्रजापति, सोमप्रसाद मिश्रलगायतले देश र जनताका कामलाई अगाडी बढाउँदै पार्टी एकताको बाँकी कार्यभार पूरा पर्नेमा जोड दिए।