सल्यान– बालविवाह गराइरहेको आरोपमा प्रहरीले सल्यानको शिद्धकुमाख गाउँपालिकाबाट ७ जनालाई पक्राउ गरेको छ। बालविवाह गराउनु ठूलो अपराध हो। त्यँही पनी मानिसहरु बुझेर पनी नबुझेको जसरी यस्तो अपराध गरीरहेकाे् छन्। बालविवाह हुँदै गरेको गोप्य सूचनाको आधारमा बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले शिद्धकुमाख गाउँपालिका ४, चाँदेकरञ्जीबाट उनीहरुलाई पक्रेको हो।
पक्राउ पर्नेमा १९ वर्षीय दुलाहा र १९ वर्षीय नै दुलहीसहित दुलाहाका बुवा लोकबहादुर बोहरा र आमा माया बोहरा, दुलहीका बुवा रत्नबहादुर रावत र कलौटी रावत तथा विवाह गराउने पण्डित रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिएका छन्।
यसैगरी जाजरकोटको कुसे गाउँपालिका ९ घर भएका पुरोहित २५ वर्षीय नविन आचार्य पनि उनीहरुसँगै पक्राउ परेका छन्। उनी हाल शिद्धकुमाख गाउँपालिका ४ मा बस्दै आएको प्रहरीले जनाएको छ।
शिद्धकुमाख गाउँपालिका २ शिद्देश्वरी घर भएकी १९ वर्षीया किशोरीको बिहीबार स्थानीय परम्परा अनुसार विवाह हुन लागेको थियो। सल्यान प्रहरी बालविवाहको मुद्धामा अहिले निकै जोडतोडका साथ लागिरहेको छ। आफूहरुले बालविवाह रोक्न सचेतनामा विशेष जोड दिएको डीएसपी खतिवडा बताउछन्।
कानुन उल्लंघन गरी बालविवाह गरेमा जोसुकैलाई पनि कानुन अनुसार कारबाही हुने बताउँदै सल्यान कर्णाली प्रदेशमा सबैभन्दा बढी बालविवाह हुने जिल्ला भएकाले धेरैले यसलाई गम्भीर रुपले नलिँदा समस्या भएको उनले बताए। कानुनले वालविवाह गराउनेहरुलाई तिनवर्ष सम्मको कैद र तिस हजार रुपैँया सम्मको जरिवाना हुन सक्ने व्यवस्था गरेको छ।