काठमाडौं–सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बताएका छन्।
शुक्रबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारको हरेक गतिविधि र निर्णयहरु राष्ट्र र जनताका हितमा हुनुपर्नेमा जोड दिए।
सरकारले प्राप्त गरेको यो ऐतिहासिक अवसरलाई गुम्न नदिन साझेदारी मनस्थितिबाट सरकार सञ्चालन गर्नुपर्ने उपसभापति गच्छदारले सुझाव दिँदै प्रेस लोकतन्त्रको गहना भएकाले यसको सङ्कुचन गर्न नहुने तर्क गरे।
जनताले संविधानबाट पाएको अधिकार उपयोग गर्न सरकार बाधक बन्नु नहुन उनले धारणा राख्दै सरकारले जनतासँग गरेको वाचालाई पूरा गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए।
उपसभापति गच्छदारले नेपाली कांग्रेसका नेतामाथि भर्खरै भएको निन्दनीय घटनाप्रति दुःख व्यक्त गरे। विगतमा आफूले नेतृत्व गरेको पार्टी एकीकरण हुँदा भएको सम्झौताअनुसार पाएको केन्द्रीय समितिमा जाने सदस्यहरुका नाम छिट्टै सार्वजनिक गर्ने बताए।