काठमाण्डौं– अमेरिकी राजदूत र्याण्डी बेरीले नेपालका लागि आफ्नो देशले अघि सारेको ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ कुनै पनि खालको सैन्य गतिविधि वा राजनीतिक गतिविधिलाई अघि बढाउने उद्देश्यका साथ नल्याइएको स्पष्ट पारेका छन।
चीनले नेपालमा अघि सारेको ‘बीआरआई’ अवधारणामाथि व्यापक छलफल भइरहेका बेला अमेरिकी राजदूत बेरीले सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेटेर आफ्नो यस्तो प्रष्टयाएका हुन्। शुक्रबार बिहान काठमाण्डांैको डल्लुमा रहेको खनाल निवासमा पुगेर उनले पूर्व प्रधानमन्त्री खनालसँगको भेटमा नेपाल तटस्थ देश भएकाले त्यस स्ट्राटेजीमा सहभागी गराउन अमेरिकाले कुनै पनि प्रयास नगर्ने दोर्होराए।
वरिष्ठ नेता खनालले राजदूत बेरीले आफूसँगको भेटमा नेपाललाई आफ्नो देशले अघि सारेको ‘इण्डो–प्यासिफिक स्ट्राटिजी’ मा सहभागी गराउन कुनै पनि प्रयास नगर्ने बताएका जनाए। ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ कुनै सैन्य संगठन होइन, यो कुनै राजनीतिक मोर्चा पनि होइन,’ अमेरिकी राजूदत बेरीसँगको भेटवार्तालाई उद्धृत गर्दै वरिष्ठ नेता खनालले भने, ‘हामी नेपाललाई यसमा ल्याउन वा तान्न बिल्कुलै प्रयत्न गरिरहेका छैनौँ।’
वरिष्ठ नेता खनालले पनि नेपालले असंलग्नताको नीति लिएको हुनाले त्यस्ता रणनीतिक साझेदारीहरुमा तटस्थताको भूमिका निर्वाह गर्ने जवाफ राजदूत बेरीलाई दिएका थिए। वरिष्ठ नेता खनालले राजदूत बेरीसँग दुई देशबीचको सम्बन्धलाई अझै घनिष्ट बनाउने विषयमा पनि छलफल गरिएको जानकारी दिए। नेपालमा चिनियाँ गतिविधि बढदै गइरहँदा अमेरिकी राजदूत बेरीले तीव्रता दिइएको राजनीतिक भेटवार्तालाई रुचिपूर्वक हेरिएको छ।