पाल्पा– बगनासकाली गाउँपालिकामा बलियो पूँजी र उचित व्यवस्थापनका लागि फरक पहिचानका सहकारी एकीकरण भएका छन्। फरक पहिचानसहित स्थापना भएका पूँजी र व्यवस्थापन कमजोर रहेका सहकारी संस्थाबीच एकीकरण गरिएको छ। यहाँस्थित तीन सहकारी एकीकरण भएपछि गाउँपालिकास्तरीय सहकारी बनेको हो।
वडा नं ८ स्थित बराङ्दी स्वावलम्बन विकास बचत तथा ऋण सहकारी, महिला जागृति बराह बहुउद्देश्यीय सहकारी र वडा नं ९ स्थित सिर्जना सहकारी संस्था एकीकरण भएका हुन्। गाउँपालिकाबाट एकीकरणका लागि सैद्धान्तिक सहमतिअनुरुप एकीकरण गरिएको बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद भुसालले बताएका छन्।
सहकारी एकीकरणले पूँजी बलियो र प्रभावकारी व्यवस्थापन हुने उनको विश्वास छ। एकीकरणपछि सहकारी सदस्यमा आर्थिक पहुँच विस्तार हुनेछ। एकीकरणपछि नयाँ बनेको सहकारीको नाम बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था राखिएको छ। सहकारीका शेयर सदस्यको सङ्ख्या एक हजार २२५ पुगेको छ ।
शेयर पूँजीतर्फ रु १७ लाख, बचततर्फ रु ३८ लाख र रु दुई करोड ८० लाख ऋण लगानी छ। गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले गरिबी हटाउन र व्यावसायिक बनाउन सहकारीको ठूलो भूमिका रहेको बताएका छन्। ससाना पूँजीमा सञ्चालित सहकारी एककीरण गरी नमूना काम भएको उनको भनाइ छ।
गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदीले सहकारीले गरीब तथा विपन्न समुदायका नागरिकको जीवनस्तर सुधार ल्याउन सफलदायी हुने विश्वास व्यक्त गरेका छन्। जिल्ला सहकारी सङ्घका अध्यक्ष धु्रवराज अधिकारीले सहकारीको मूल्य र मान्यताअनुसार नै सहकारीको एकता र उचित व्यवस्थापन गर्न खाँचो रहेको बताएका छन्। (रासस)