काठमाडौं– भारतमा जारी विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी अर्थमन्त्री डा. युवराज खतिवडा र भारतीय वित्तमन्त्री निर्मला सितारमणबीच शुक्रबार भेटवार्ता भएको छ। भारतीय वित्त मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री डा. खतिवडाले नेपालमा ठूलो परिमाणमा रहेका ५ सय र एक हजारका भारतीय नोट साट्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्।
कालोधनविरुद्ध कारवाही गर्ने भन्दै एकाएक ५ सय र एक हजार भारुका नोट भारतले प्रतिवन्धित गरेको थियो। उसले सो प्रतिवन्धपछि आफ्नो देशका नागरिकसँग रहेका ती नोट सटही गरे पनि नेपालमा रहेको ठूलो परिमाणको नोट साट्न इन्कार गर्दै आएको छ।
अर्थमन्त्री डा. खतिवडाले भारत सरकारले भारु ५ सय र १ हजारका नोट प्रचलनमा बन्देज लगाउनु भन्दा पहिले नेपालमा मौज्दात भारुको सटही सम्बन्धमा देखिएको समस्या समाधान गर्न आग्रह गरेका थिए। भारतबाट नेपालतर्फ जाने व्यक्तिले आफूसँग लैजान पाउने ठुला दरका भारु नोट फर्काउने सम्बन्धमा द्विविधा भएकाले त्यसलाई स्पष्ट हुने गरी आवश्यक सुचना जारी गरिदिन समेत उनले आग्रह गरेका छन्।
सो भेटमा नेपालको विकासका लागि भारत सरकारवाट प्राप्त सहयोगका लागि अर्थमन्त्री डा. खतिवडाले धन्यवाद व्यक्त गरे। साथै द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानीका विषयमा छलफल भएको थियो। भारतीय सहयोगमा सञ्चालित विभिन्न आयोजनाको कार्यान्वयन अवस्थाबारे अर्थमन्त्री डा. खतिवडाले बताए।
साना विकास अनुदान आयोजना, हुलाकी सडक, एकीकृत चेक पोष्टको कार्यान्वयनको अवस्थाबारे समेत दुई अर्थमन्त्रीबीच छलफल भएको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडमा भारतीय लगानीकर्ताबाट समेत इक्विटीमा लगानी गर्न प्रकृया अघि वढेको जानकारी दिंदै सो कार्य अघि वढाउन अर्थमन्त्रीले मारतीय समकक्षीसँग आग्रह गरेका छन्।
अर्थमन्त्री डा. खतिवडाले पछिल्लो आर्थिक स्थिति, लगानीको वातावरण तथा राजस्वका क्षेत्रमा भएका सुधारका प्रयास, द्विपक्षीय व्यापार, वाणिज्य सन्धिलगायत विषयमा समेत दुई अर्थमन्त्रीबीच छलफल भएको छ। नेपालको वैदेशिक व्यापारको दुई तिहाई हिस्सा भारतसँग भएको उल्लेख गर्दै अर्थमन्त्री डा. खतिवडाले बढ्दो व्यापार घाटा सम्बोधन गर्न भारत सरकारबाट पनि सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे।
भेटमा भारतीय वित्तमन्त्री निर्मला सितारमणले नेपाल–भारत बीचको सम्बन्ध सदियौ देखि भएको उल्लेख गर्दै आगामी दिनमा सहयोग बढाउने बताइन्। उनले भारतीय सहयोगमा सञ्चालित आयोजना तथा विगतको भारु नोट प्रचलनमा भएको बन्देज र भारु नोट प्रयोगका क्रममा उत्पन्न समस्यालाई दुवै देशको सहमतिमा समाधान गरिने आश्वासन दिएकी छिन्। अर्थमन्त्रीले भेटमा भारतीय समकक्षीलाई नेपाल भ्रमणको निम्ता पनि दिएका छन्।