काठमाडौ– फ्रान्सको राजधानी पेरिसस्थित प्रहरी मुख्यालय भित्र एक व्यक्तिले चक्कु प्रहार गरी चार प्रहरीको हत्या गरेका छन्। प्रहरीले आक्रमणकारीलाई पनि मारेको छ।
आक्रमणकारी प्रहरी मुख्यालयकै कर्मचारी रहेको तर नाम नखुलाइएको बीबीसीले लेखेको छ। फ्रान्सका मिडियाका अनुसार करिब २० वर्षदेखि पेरिस पुलिस फोर्सको प्रशासनिक पदमा कार्यरत आक्रमणकारीको उमेर करिब ४५ थियो।
उनले जासुसी विभागमा काम गर्दथे। घटनापछि सेन्ट्रल पेरिसस्थित इला डी ला क्षेत्रलाई प्रहरीले घेराबन्दी गरेको छ। आक्रमणपछि राष्ट्रपति इमानुयल म्याक्रो, प्रधानमन्त्री एडवर्ड फिलिप र गृहमन्त्री क्रिष्टोफर केस्टानेरले घटनास्थलको निरीक्षण गरेका छन्।
फ्रान्सीसी ब्रोडकास्टर बीएफएमटीभीका अनुसार आक्रमणमा तीन पुरुष र एक महिला प्रहरीको मृत्यु भएको छ। एक व्यक्ति घाइते पनि छन्।