काठमाडौं — नेपाल चिया संघका पदाधिकारीहरूले आधिकारिक सपथ लिएका छन्। बुधबार निर्वाचन कमिटीका प्रमुख केदार कार्कीले पदाधिकारीहरूलाई प्रमाणपत्रसहित सपथ ग्रहण गराएका हुन्।
गत भाद्र २६ गते भएको संघको प्रथम महाधिवेशनले पदाधिकारीसहित १५ सदस्यीय केन्द्रीय कार्यसमिती चयन गरेको थियो।निर्वाचित पदधिकारीमा केन्द्रीय अध्यक्ष कमल मैनाली,वरिष्ठ उपाध्यक्ष गणेश राई,उपध्यक्षद्वय निरज राठी र प्रमिता वज्राचार्य,महासचिव कमलमणि पौडेल सचिव नविन महर्जन,कोषाध्यक्ष चिरञ्जिवी दाहाल र सदस्यहरूमा पवन खेतान,सुवास संघाइ,शंकर खड्का,कविन शाक्य,तीर्थलाल राज भण्डारी,याम राई,सूर्य वहादुर सुनवार र वाग्मती राईले सपथ लिएका थिए।
कार्यक्रममा बोल्दै अध्यक्ष कमलराज मैनालीले ‘नेपाल टि एशोशिएसन राजनीतिक आस्थाका कारणले कुनै पनि अवस्थामा प्रभावित हुने छैन,म सबै साथीहरूलाई यसमा विश्वस्त हुन आग्रह गर्दछु।’ ‘आस्था आ–आफ्ना रहलान तर संगठनमा त्यसको छाया पर्न दिइने छैन। कथमकदाचित त्यस्तो अवस्था आए यो संस्थाको अस्थित्व रहने छैन,’ मैनालीले भने।
चियाको विकास र प्रवद्र्धनमा सरकारी चासो नरहेको बताउँदै अध्यक्ष मैनालीले भने,‘विश्वको चिया क्षेत्रमा नेपालको नाम कतैपनि देखिदैन,संसारमा नेपाल भन्दा साना चिया उत्पादक मुलुकका नाम विश्व बजारमा उल्लेख्य रुपमा स्थापित भएका छन। तर,नेपाल चिया उत्पादक मुलुक हो भनेर कतै उल्लेख भएको छैन। यो कमीलाई पूरा गर्न विश्व बजारमा नेपाली चियालाई स्थापित गराउन संघ दत्तचित्त भएर लाग्नेछ।’
वरिष्ठ उपाध्यक्ष गणेश राईले चियाको दिगो गुणस्तरीयतामा संघको प्राथमिकता हुने बताएका छन्। उनले भने,‘विश्वको चिया बजार मात्र होइन नेपाली चियाको ब्राण्ड स्थापित गर्नुपर्ने अवस्था छ,संघका आगामाी कार्यक्रम त्यस दिशातर्फ उन्मूख हुनेछन्।’
उपाध्यक्ष राई संघको विदेश विभाग प्रमुख पनि हुन्। कार्यक्रममा महासचिव केदारमणी पौडेलले चियाको विकास र प्रवर्द्धन मा सरकारी उपेक्षा रहेको बताए। उनले भने,‘यसका वावजुद नेपाली चियालाई विश्व बजारमा सरल रुपले पहुँच पुर्याउनुपर्ने चुनौती संघ समक्ष रहेको छ,यसलाई संघले दृढताका साथ सामना गर्नेछ।’
संघका वरिष्ठ सल्लाहकार एवम् चिया उद्यमी उदय चापगाईँले दक्षिण पूर्वी एशियामा नेपाल चियाको गुणस्तरीयतामा अग्रणी स्थानमा रहेको जानकारी दिँदै उनले भने,‘यसलाई विश्व बजारमा पुर्याउन सक्नुु संघको सफलताको पहिलो खुड्किलो हो।
चियाको नाममा आधा दर्जन संगठन खुलेपनि कसैले विधिवत रुपमा संगठन अगाडि वढाउन सकेका थिएनन्। तर नेपाल चिया संघले आफूलाई विधिवत रुपले अगाडि बढाउन शुरु गरेकाले यसको भविष्य उज्वल र सुदृढ देखेको छु। संघले सबैलाई समेटेर आफूलाई बलियो बनाउने छ भन्ने शुभकामना दिन चाहन्छु।’