डोटी – जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ ले आफ्नो वडामा भएका नौ सुत्केरी महिलालाई लोकल जातका कुखुरा र घ्यू वितरण गरेको छ। महिला तथा शिशुको स्वास्थ्य अवस्था सुधारका लागि पोषणयुक्त आहार गर्नुपर्छ भन्ने सन्देश दिन आर्थिक वर्ष २०७६७७ बाट सुत्केरी महिलाका लागि उक्त सुविधा दिन शुरु गरेको वडा नं ६ का वडाध्यक्ष सन्तोष बोहराले बताएका छन्।
उनले भने, ‘सुत्केरी महिला र बच्चाको स्वास्थ्य राम्रो होस भनेर हामीले कुखुरा र घ्यू दिन शुरु गरेका छौँ, हाम्रो अभियान राम्रै हुने आस गरेका छौँ।’ उक्त वडाले आफ्नो वडाभरिमा स्थायी बसोबास भएका प्रत्येक सुत्केरी महिलालाई एउटा लोकल जातको कुखुरा र एक किलोग्राम घ्यू वितरण गर्ने कार्यको शुरुआत गरेको छ।
वडा कार्यालयले सुत्केरी आमालाई कुखुरा र घ्यू वितरण गर्न थालेपछि सो वडाका स्थानीयवासी निकै खुशी भएको सिलगढीका स्थानीयवासी डिलबहादुर सिंहले बताएका छन्। उनले भने, ‘वडाले गरेको कार्य निकै सराहनीय छ, किनेर खान नसक्ने सुत्केरी आमालाई यसले निकै सहयोग मिल्ने छ।’चालू आर्थिक वर्षको साउनयता नौ सुत्केरी महिलालाई लोकल जातका कुखुरा र घ्यू प्रदान गरिएको सो वडाका वडासदस्य दीपा श्रेष्ठले जानकारी दिएका छन्।
स्थानीयवासी सुनिता धामीले भने, ‘सुत्केरीलाई लोकल कुखुरा र घ्यू दिनु राम्रो हो, यो कार्य सबै वडाले गरे झन् राम्रो हुनेछ।’यसअघि दिपायल सिलगढी नगरपालिकाले नगरपालिकाभरिका स्थानीय सुत्केरी महिलालाई लोकल जातका कुखुरा र अण्डा वितरण गरेको थियो। (रासस)