काठमाडौं — काठमाडौंको मुटुमा रहेको खुला मञ्च विभिन्न वहानामा अतिक्रमणमा पर्दै आएको छ। भूमाफिया र प्रशासनसँगको साँठगाँठका कारण खुला मञ्चमा अतिक्रमण बढ्दै गएको हो। खुल्ला मञ्च संरक्षणको जिम्मेवारी पाएको काठमाडौं महानगरपालिकाले हालसम्म भएका अतिक्रमण हटाउने र व्यवस्थापन गर्ने विषयमा कुनै चासो नदिँदा यस्तो समस्या आएको हो।
‘खुला मञ्च बचाऊ’ अभियानका संयोजक सुशन वैद्य करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको खुला मञ्च विभिन्न रूपमा अतिक्रमणमा परेको बताउँछन्। खुला मञ्चलाई सरकारले खुला स्थानका रूपमा राख्न नसकेको उनी बताउँछन्।
‘विपद्का समयमा प्रयोग हुने स्थान सरकार र निजी क्षेत्रको कारण अतिक्रमणमा परेको छ’, उनले भने। खुला मञ्चमा बनेको बसपार्कमा टहरा बनाई जग्गा अतिक्रमण भएको दुमाजु गुठी अतिक्रमणमा परेको तथा शौचालय व्यवस्थापनका नाममा फैलँदै गएको व्यापार व्यावसायका कारण खुला मञ्च अतिक्रमणमा परेको वैद्यको भनाइ छ।
यता महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी विभिन्न वहानामा खुला मञ्चको अतिक्रमण बढ्दै गएको स्विकार्छिन्। खड्गी भन्छिन्, ‘एउटा उद्देश्य लिएर खुला मञ्चका जग्गा र सटर भाडामा लिने गरेको र यसबाट विस्तारै अतिक्रमण गर्ने गरेको देखिन्छ।’ यो समाचार आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन्।