काठमाडौं — संघीय संसद सचिवालयले सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएसँगै सभामुखको पद रिक्त भएको जनाएको छ। बुधबार दिउँसो संघीय संसद सचिवालयका सचिव डा भरतराज गौतमले सुचना जारी गर्दै सभामुखको पद रिक्त रहेको जनाएका हुन्।
प्रकाशित सूचनामा भनिएको छ, ’उपसभामुखको आदेशअनुसार प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २११ को उपनियम (२) बमोजिम यो सूचना प्रकाशन गरिएको छ।’
उपनियम २ मा उपनियम (१) बमोजिम दिइएको राजीनामा अध्यक्षता गर्ने व्यक्तिले बैठकमा पढेर सुनाउनेछ प्रावधान रहेको र बैठक चालू नरहेको अवस्थामा सूचनापत्रमा प्रकाशन गरिनुपर्ने उल्लेख छ। सोही बमोजिम सचिवालयले सुचना प्रकाशित गरेको जनाएको छ।
यौन दुर्व्यहारको आरोप लागेसँगै महराले उपसभामुख डा शिवमाया तुम्बाहाम्फेसमक्ष छानबिन प्रक्रियालाई सघाउने भन्दै मंगलबार पदबाट राजीनामा दिएका थिए।
संघीय संसदको सचिवालयस्थित स्वास्थ्य शाखामा कार्यरत एक महिला कर्मचारीले महरालाई शारीरिक दुर्व्यवहार गरेको आरोप लगाएपछि महराले पदबाट राजीनामा दिएका हुन्।
