काठमाडौं — दसैंका लागि पाँचै दिनमा ८ अर्ब बराबरको नयाँ नोट साँटिएको छ।
राष्ट्र बैंकले असोज १० गतेदेखि नयाँ नोट बाँड्न सुरु गरेको थियो। यसरी साटिएका नयाँ नोटमा पाँच, दश, बीस, पचास र सय दरका नोट रहेका छन्। मंगलबार बेलुकासम्ममा पनि ८ अर्ब रुपैयाँभन्दा बढीको नयाँ नोट साटिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए।
खासगरी बडादसैं पर्वमा साना दरका नयाँ तथा सुकिला नोटको माग उच्च हुने गरेको छ। दसैंमा ठूलाबडाबाट आसिर्वादसँगै दक्षिणा दिने चलन छ भने यसरी दिइने दक्षिणामा सकभर नयाँ नोट प्रयोग गरिन्छ।
राष्ट्र बैंकले केन्द्रीय कार्यालयको मुद्रा व्यवस्थापन विभाग बालुवाटार, विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट नयाँ नोट सटही र वितरण गरिरहेको छ।
त्यसैगरी, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा कार्यालयबाट पनि नयाँ नोट सटही भइरहेको छ।