सोलुखुम्बु — थुुलुङदुधकोशी गाउँपालिका ६ मुक्लि चारघरेमा बाबुद्धारा तीन जना छोराछोरी माथि मरासन्न हुनेगरि चरम यातना दिने गरेको पाइएको छ।
स्थानीय ४२ वर्षीय तीर्थ राईले कान्छी श्रीमतीसँग मिलेर जेठी श्रीमती पट्टिका छोराछोरीलाई बारम्बार चरम यातना दिने गरेको वडा अध्यक्ष फुर्तीमान तामाङले जानकारी दिए।
वडा अध्यक्ष तामाङका अनुसार बाबु तीर्थ राईले लामो समय देखि ९ वर्षीय छोरा संम्योग राई, १३ र १५ वर्षीय छोरीहरुलाई शारीरिक तथा मानसिक यातना दिने गरेको वडा कार्यालयमा उजुरी दर्ता भएपछि मात्रै बाहिर आएको हो। पटक पटकको यातना सहन नसकेर पीडित बालबालीकाहरुले वडा कार्यलयमा सोमबार ज्यान बचाईदिन आग्रह गर्दै उजुरी दर्ता गराएका छन्।
केहि दिन अगाडीको यातनाबाट ९ वर्षीय बालकको ढाँडमा गहिरो चोट लागेको छ। बालकको बयान अनुसार ती निर्दयी बाबाले पछिल्लो पटक भाडा माझ्ने स्टीलझुसले ढाँडमा रगडेर खोर्सानी र नुन लगाउनुका साथै सिस्नो पानीले समेत हिर्काएका थिए।
सोहीकारण ती बालकको डाँडमा भएको पुरै घाउँ अहिले पाक्ने अवस्थामा पुगेको उपचारमा संलग्न जिल्ला अस्पताल फाप्लुका चिकित्सकले बताएका छन्। त्यस्तै १३ वर्षिया छोरीको पनि बाबुको पिटाईबाट १० महिना अघि हात भचिएको पीडितले बताएका छन्। आफ्नै बाबुको कुटाईबाट हात भच्चिएपनि त्रासका कारण ढाटेर उपचार गराएको पिडित बालिकाले वडा कार्यलयमा बयान दिएकी छन्।
रोहबरमा भएको छलफलले सामान्य उपचार खर्चमा दोषीलाई छाडिएको छ। घटनाको विषयमा सोमबार गाउँपालिकाको न्यायिक समितिमा छलफल भएको छ। छलफलको क्रममा राईले आफ्नो गल्ति स्वीकार गरिसकेको न्यायिक समितिले जनाएको छ।
मदिरा सेवन गरेपछि बालबालीकालाई याताना दिने गरेको छलफलको क्रममा ती बुबाले स्वीकार गरेको वडा अध्यक्ष तामाङले बताए। ती बालबालीकालाई कठिन श्रममा समेत लगाउने गरेका रहेछन् घर बनाउँदा ढुङ्गा बोक्ने, हिलो मुछ्ने ती केटाकेटीले नै गर्नुपर्ने रहेछ, त्यो नमान्दा कुटि हाल्दो रहेछ।
तामाङले भने, बालबालीकाको शरीरभरी अहिले निलडाम रहेको छ। बालकको अहिले जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको छ। वडा अध्यक्ष तामाङका अनुसार न्यायीक समितिमा भएको छलफलले दुई छोरीलाई निज बाबुले खर्च बेहोर्ने गरि आफ्नै फुपुको घरमा राख्ने व्यवस्था मिलाइएको छ।
जेठी श्रीमती समेत दुई छोरा, दुई छोरीको जयजन्म भएपछि श्रीमानको पीडा सहन नसकेपछि छोराछोरीलाई छाडी अर्को बिहे गरेर हिडेको बताइएको छ।