काठमाडौं– सरकारले युवालाई स्वयंसेवक क्षेत्रमा परिचालन गर्नका लागि युवाको तथ्याङ्क सङ्कलन गर्ने तयारीमा रहेको छ।
मुलुकको विभिन्न क्षेत्रमा युवालाई स्वयंसेवी भावनाबाट परिचालन गर्नका लागि युवा तथा खेलकूद मन्त्रालयले तथ्याङ्क सङ्कलन गर्न थालेको हो। युवालाई स्वयंसेवा गर्दा ‘सुविधा लिएर वा नलिएर’ दुवै किसिमबाट परिचालन गर्ने योजना रहेको मन्त्रालयका युवा परिचालन तथा परामर्श शाखाका प्रमुख कृष्णप्रसाद बस्यालले जानकारी दिएका छन्।
युवाको तथ्याङ्क सङ्कलनका लागि सफ्टवेयर बनाउने जिम्मा मन्त्रालयले पुल्चोक इञ्जिनीरिङ क्याम्पसलाई दिएको छ। स्वास्थ्य क्षेत्र र कृषि प्राविधिकमा अहिले सरकारले स्वयंसेवी परिचालन गरेको छ। सरकारले तथ्याङ्क सङ्कलन गर्ने भएपछि अब स्वयंसेवा गर्न चाहने व्यक्तिलाई खोजिरहनु पर्ने झन्झट हट्ने छ। तथ्याङ्क विवरण सकेपछि ‘स्वयंसेवक परिचालन राष्ट्रिय रणनीति’ सबै क्षेत्रमा युवालाई स्वयंसेवीमा लगाउने मन्त्रालयको तयारी रहेको छ।
उनका अनुसार विकास निर्माण, इञ्जिनीयरिङ, शिक्षण, पूर्वाधार, आपत्कालीन, वातावरण संरक्षण, सरसफाइ, वृक्षरोपण, ट्राफिक व्यवस्थापन, सामाजिक विकृति विसङ्गतिको सचेतना जगाउनेजस्ता क्षेत्रमा परिचालन गर्नका लागि स्वयंसेवीको तथ्याङ्क लिन थालिएको हो। क्याम्पसले तयार पारेको सफ्टवेयरमा स्वयंसेवा गर्न इच्छुक युवाले आफ्नो व्यक्तिगत विवरण स्क्यान गरेर राख्ने छन। व्यक्तिगत विवरणमा तीन पुस्ते नाम, शैक्षिक योग्यता, सम्पर्क नम्बर र आफूले स्वयंसेवा गर्न इच्छुक रहेको क्षेत्रको जानकारीसहितको विवरण बेवसाइटमा राख्ने छन्।
यसरी राखिएको व्यक्तिगत विवरणको आधारमा सरकार वा अन्य संस्थाले युवालाई सम्पर्क गरी स्वयंसेवामा लगाउने छन्। ‘सरकार वा अन्य संस्थाले सफ्टवेयरमा रहेको स्वयंसेवा गर्न इच्छुक युवाको तथ्याङ्क हेरेर आफूलाई आवश्यक युवालाई छनोट गरेर बोलाउने छन ‘उनले भने, ‘यसरी स्वयंसेवा गर्न चाहने र लिने चाहनेले सफ्टवेयरको डाटावेसमा भेट भएर स्वयंसेवी क्षेत्रमा काम गर्ने छन्।’ परामर्श शाखाका प्रमुख बस्यालले बेवसाइटमा नाम दर्ता गराएका युवालाई मन्त्रालयले प्रमाणपत्रसमेत प्रदान गर्ने बताएका छन्।
स्वयंसेवाका लागि बेवसाइटमा दर्ता भएका युवाले प्रमाणपत्रका लागि मन्त्रालयमा निवेदन हालेपछि मन्त्रालयले सबै व्यक्तिगत विवरण हेरेर प्रमाणपत्र दिनेछ। मन्त्रालयले प्रमाणपत्र बेवसाइटमा राखी दिने छ र स्वयंसेवी युवाले ती प्रमाणपत्र आफैँ प्रिन्ट गरेर लिन सक्ने छन्। उनले तिहारपछि ती स्वयंसेवा गर्ने इच्छुक युवाको तथ्याङ्क सङ्कलन गरिने बताए। मन्त्रालयले सबै स्वयंसेवी युवाको तथ्याङ्क सङ्कलन यसै वर्ष सक्ने तयारी गरेको छ।
यसैगरी मन्त्रालयले हरेक टोल सरसफाइ गर्नका लागि महीनाको अन्तिम शनिबार अनिवार्य रुपमा युवा परिचालन गर्न योजना बनाएको छ। उपसचिवसमेत रहनुभएका बस्यालले स्थानीय तहलाई परिपत्र गरी सरसफाइमा सबै युवालाई स्वयंसेवी रुपमा खटाउन निर्देशन दिने जानकारी दिएका छन्। (रासस)