पोखरा– फेवाताल किनारमा माता तालबाराही सेवा समितिले गर्दै आएको सन्ध्या आरती कार्यक्रममा एक वर्षमा ४० हजार पर्यटकले अवलोकन गरेका छन्।
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी धार्मिक तथा सांस्कृतिक प्रवर्दन गर्ने उद्देश्यले शुरु गरिएको सङ्गीतमय महाआरती पुजन गत वर्ष असोज २४ गते घटस्थापनाका दिनबाट शुरु गरिएको हो।सन्ध्या आरतीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै गएको समितिका अध्यक्ष गिरिराज अधिकारीले बताए।
सन्ध्याकालीन आरतीमा एक वर्षमा ४० हजारले अवलोकन गरेको उनले जानकारी दिए। २६ हजार नेपाली र अन्य भारत तथा तेस्रो मुलुकका पर्यटक छन्। पर्यटक भक्तजनको उत्साहजनक सहभागिता र दानदक्षिणाले यसलाई निरन्तरता दिन सफल भयौँ अधिकारीले भने दैनिक ५ हजार खर्च हुन्छ, अहिलेसम्म एक वर्षमा रु १८ लाख खर्च भएको छ।
प्रसिद्ध महाआरती सञ्चालन गर्दा धार्मिक पर्यटक वृद्धि हुनुका साथै पोखरामा पर्यटकको बसाइँ लम्ब्याउने र बेलुकाको समयमा फेवाताल किनारमा महाआरती सञ्चालन गर्दा मानिसमा सकरात्मक सन्देश प्रवाह भई विकृति विसङ्गतीको अन्त्य हुने उनको विश्वास छ। गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले पोखराको फेवाताल दृश्यावलोकन र डुङ्गा सयरका लागि मात्र नभई आध्यात्मिक शान्तमनका लागि उत्कृष्ट गन्तव्य रहेको बताए।
फेवातालको बीचमा रहेको तालवाराही मन्दिरमा सन्ध्याकालीन आरती पूजा शुरु गरिएपछि आध्यात्मिक पर्यटक र श्रद्धालु भक्तजनलाई आकर्षित बडेकाे हो। पूजा आरधनाले आध्यात्मिक शक्ति जगाउने र मनलाई शान्त बनाउने पर्यटन बताउछन्। दिउँसो मात्र पर्यटकको चहलपहल हुने फेवातालमा सन्ध्याकालीन आरती पूजाले साँझ पनि पर्यटकको भीड लाग्ने गरेको होटल सङ्घका कोषाध्यक्ष पार्वती पाण्डेले बताए।
नेपालमा बढ्दो आन्तरिक पर्यटकको आगमनले पर्यटन उद्योगको विकासमा भूमिका खेल्दै गएको उनको भनाइ छ।पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटक साँझमा फेवा किनारको आरतीमा भक्तिसङ्गीतमा झुम्दै नाच्ने गरेका उनले बताइन्।