नवलपरासी– नेत्रविक्रम चन्द समूहको विद्यार्थी सङ्गठनका जिल्ला संयोजकसहित तीन नेतालाई अभ्रद व्यवहार मुद्दा चलाइएको छ। शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई रोकेर जाँच गर्ने क्रममा प्रहरीमाथि नै दुव्र्यवहार गरेपछि पक्राउ गरी अभ्रद व्यवहारअन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ।
गत शुक्रबार पश्चिम नवलपरासीको सुनवलबाट पक्राउ परेका शारदा भण्डारी, वीरेन्द्र विक र नैनसिंह खड्काविरुद्ध सोमबार मुद्दा दायर गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका थिए।
कपिलवस्तु शिवराज नगरपालिका–१ निवासी २२ वर्षीया भण्डारी नवलपरासीका जिल्ला संयोजक हुन्। कैलाली लम्कीचुहा नगरपालिका–१ घर भएका २७ वर्षीय विक रुपन्देहीका जिल्ला सदस्य हुन्। यसैगरी रुकुमपश्चिम सानोभेरी गाउँपालिका–९ घर भएका २३ वर्षीय खड्का अखिल क्रान्तिकारी चितवनका पुर्वजिल्ला सदस्य हुन्।
शुक्रबार सुनवल–४ तुरिया पुलमा शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको टोलीले जाँच गर्न खोज्दा प्रहरीलाई अपशब्द प्रयोग गरी कामकाजमै बाधा पुर्याएका तीनै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। (रासस)