काठमाडौं– सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिने तयारी गरेका छन्।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका केही नेताहरुले आफूमाथि लागेको आरोपको सत्यतथ्य छानबिनका लागि राजीनामा दिन महरालाई सुझाव दिएका छन्। मंगलबार बिहानै नेकपा अध्यक्ष प्रचण्डले फोनमार्फत महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे बुझेका थिए।
प्रचण्डको अनुसार आरोपबारे सत्यतथ्य छानबिन गर्न महराको सहयोग चाहिँन्छ। ‘गम्भीर आरोप लागेको छ। अहिलेका लागि सत्यतथ्य छानबिन आवश्यक छ। यसमा तपाईंले सहयोग गर्नुर्पयो,’ सभामुख महरासँग प्रचण्डले भनेको अध्यक्ष प्रचण्ड निकट स्रोतले जानकारी दिएको छ।
महराले आफू अनुसन्धानका लागि सहयोग गर्न तयार रहेको बताएका थिए। प्रचण्डले गृहमन्त्री रामबहादुर थापा (बादल)सँग पनि महरामाथि लागेको आरोपकाबारेमा बुझेका छन्।
प्रधानमन्त्रीको सरकारी निवासमा महरामाथि लागेको आरोपका विषयमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्नका लागि प्रचण्ड बालुवाटार पुगेका बताईएको छ।
‘सभामुखबारे कस्तो निर्णय लिने भनेर छलफलका लागि अध्यक्ष प्रचण्ड अर्को अध्यक्ष तथा प्रधानमन्त्रीज्यूसँग छलफल गर्न बालुवाटार जानु भएको छ,’ प्रचण्ड निकट स्रोतले जानकारी दिए।