काठमाडौं– प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलका अनुसार चाडवाड मनाउँदा विकृतिरहित ढङ्गले मनाउनुपर्छ।
चाडपर्व सुसंस्कृत, विकृतिरहित मनाउँदा धर्म, संस्कृति तथा परम्पराको समेत संरक्षण हुने मुख्यमन्त्री पौडेलको विश्वास छ। संस्कृति र परम्पराको संरक्षण गरे पहिचानको पनि संरक्षण हुने उनको भनाई छ।
विजयादशमी, शुभदीपावली तथा छठ पर्वको उपलक्ष्यमा जिल्ला समन्वय समिति मकवानपुरले मङ्गलबार आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै पौडेलले नेपाल सांस्कृतिक र धार्मिक हिसाबमा सम्पन्न राष्ट्र भएको जनाए।
प्रदेश नं ३ सङ्घको राजधानी र देशको धार्मिक तथा सांस्कृतिक सम्पदाको समेत राजधानी रहेको मुख्यमन्त्री पौडेलले बताए। उनले बहुधार्मिक, बहुसांस्कृतिक तथा बहुभाषिक राष्ट्र भए पनि एकअर्काबीच सद्भाव, सम्मान र समभावका कारण नेपाली–नेपाली बीचको एकता रहेको जनाए।