काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणाले मुलुकलाई सभ्यताको एक सिँढी माथि उठाएको बताएका छन्।
खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना गरेको सो घोषणा समारोहमा प्रधानमन्त्री ओलीले अन्तरनिहित विविध पक्षलाई सबलीकृत गर्दै अनवरतरुपमा जनजागरण र जनचेतना फैलाउन आवश्यक भएको बताए। उनले नेपाललाई अल्पविकसितबाट माथि उठाउने, गरीबी कम गर्ने, निरक्षता उन्मूलन गर्ने जस्ता कामका लागि सरकार सजगताका साथ योजनाबद्ध भई अगाडि बढेको जानकारी दिए। उनले भने, ‘हाम्रो विकास हामीले गर्नुपर्छ। सचेत प्रयास हामीले अगाडि बढाउनुपर्छ।
कुनै पनि देशलाई अर्काले आएर बनाइदिएर हुँदैन, आफैँले बनाउनुपर्छ। यो घोषणाले नेपाल स्पष्टतः एक कदम अगाडि बढेको छ। नयाँ नेपाल यसै गरी बन्ने हो।’ ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकांक्षा प्राप्त गर्न नेपालले हरेक दिन एक कदम अगाडिको अभियान थालेको उल्लेख गर्दै सामाजिक र स्वास्थ्य स्थितिमा सुधार ल्याउनका लागि नयाँ उचाइमा पुगिएको उनको भनाई छ। यस घोषणाबाट मानिस निरोग हुने, स्वास्थ्योपचारमा हुने खर्च घट्ने, संक्रमण कम हुने, मृत्युदर कम हुने र सरदर आयु वृद्धि हुने प्रधानमन्त्रीले बताए।
‘हामी जनताप्रति उत्तरदायी हुन्छौँ। जनतालाई अमानवीय अवस्थामा हुन नदिने सङ्कल्प छ। सडकमा बेसहारा रहने अवस्था चाँडै मुक्त गर्छाैँ। अब सफा, स्वच्छ नेपाल बनाउनुपर्छ। प्राकृतिक हिसाबले नेपाल चिटिक्क छ।’ उनले भने, ‘सिङ्गै नेपाललाई चिटिक्क बनाउने तथा बाटा, खेत, डाँडापाखा सबै हेरिरहुँ जस्तो बनाउने दिशामा अगाडि बढेका छौँ।’
प्रधानमन्त्री ओलीले नेपालका ७ सय ५३ स्थानीय तह र ७७ जिल्लाले गरेको खुला दिसामुक्त क्षेत्र घोषणा कार्यलाई कदर गर्दै नेपाललाई खुला दिसामुक्त घोषणा गरेका हुन्। साथैउनले सन् २०३० सम्म दिगो विकासको लक्ष्य पूरा गर्ने सङ्कल्प पनि गरे। घोषणालाई राष्ट्रिय सभागृहमा सहभागीले राष्ट्रिय झण्डा फहराउँदै तालीको गड्गडाहटले स्वागत गरेका थिए।
सो अवसरमा खानेपानीमन्त्री विना मगरले नेपाल आधारभूतरुपमा सरफाइमा अग्रसर भएको जनाउँदै पछिल्लो समयमा नेपालमा ५६ लाख चर्पी निर्माण भएको तथ्याङ्क प्रस्तुत गरिन्। शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले उक्त घोषणा नेपालको सफलता भएकाले अब पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलेआफ्नो प्रदेशमा पक्की शौचालय र पर्याप्त पानीको धारा नभएको र राउटेहरु घुमन्ते भएकाले उनीहरुलाई स्थायी शौचालय दिन नसकिने जानकारी दिए।स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले सरसफाइमा नेपाल अग्रसर भए पनि स्वास्थ्य क्षेत्रमा अझै काम गर्न बाँकी रहेको अभिव्क्ति दिए।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले एकताबद्ध भएर योजनाको कार्यान्वयन गर्न सकेमा कठिनतम लक्ष्य पनि पूरा गर्न सकिन्छ भन्ने उदारहरण आजको घोषणा भएको बताए। प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनालले ऐतिहासिक सफलता हामीले प्राप्त गरेको जनाउँदै यो समग्र नेपाली प्रतिष्ठा, सभ्यता र सम्मानसँग जोडिएको विषय भएको जानकारी दिए। (रासस)