काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवासका लागि नयाँ भवनको शिलान्यास गरेका छन्।
‘केसी समान्तर जेबी कम्पनी’ले निर्माण गर्ने सो स्थलमा सात प्रदेशका लागि सात ब्लक र प्रत्येक ब्लकमा तीन–तीनतले दुई भवन गरी कूल १४ अत्याधुनिक र सुविधासम्पन्न भवन बन्नेछ। कूल २७ रोपनी १२ आना जग्गामा रु ९७ करोड ११ लाखको लागतमा आगामी दुई वर्षभित्र निर्माण हुने उक्त भवनको शहरी विकास तथा भवन निर्माण विभागले आज आयोजना गरेको कार्यक्रममा शिलान्यास गरिएको हाे।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार पूर्वाधार र विकासका हरेक क्षेत्रमा तीव्र विकास गर्दै समृद्ध नेपालको परिकल्पनाका साथ अघि बढेको बताए। उनले लोककल्याणकारी राज्यको स्थापना गर्दै कोही पनि नागरिक भोकै मर्न नपरोस् भन्नका लागि गरिबी लक्षित कार्यक्रमको अनुदानलाई बिचौलियाले खाने प्रवृत्तिमा सुधारेर लक्षित वर्गमा र्पुयाउने बताए।
उनले भने, ’हामी देखिने गरी सामाजिक रूपान्तरण र परिवर्तनको दिशामा छौं। अब कोही पनि बेसहारा भएर सडकमा रहनु पर्दैन। त्यस्ता कोही अलपत्र नागरिक देखिएमा सरकारलाई खबर गर्नुहोला।’ आफूले ‘हरेक दिन नेपाल एक कदम अगाडि’को दिएको पनि बताए।’ ठेकेदार भागेका कारण ढिलाइ भएको मेलम्ची आयोजना अब छिट्टै सम्पन्न हुनेछ। गैरमुद्दालाई मुद्दा बनाएर विरोध गर्नेहरु थाक्लान् तर सरकार आफ्नो बाटोमा अडिग रहनेछ,’ उनले भने।
शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सो भवन निर्माणमा पारदर्शिता र गुणस्तरीयता अपनाइने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओली नेतृत्वको सरकारले शुरु गरेको सघन तराई कार्यक्रमबाट अहिले तराईका हरेक जिल्ला सदरमुकाममा मुहार परिवर्तन भएको बताए।