इलाम–जनताको मन जितेर संविधान परिमार्जन गर्न सकिने पूर्वसभामुख सुवास नेम्वाङको भनाई छ। वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको उनले जानकारी दिए।
सोमबार इलाममा तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै नेता नेम्वाङले संविधान परिवर्तनीय भएकाले कुनै पनि बेला संशोधन गर्न सकिने बताए।
उनले वर्तमान सरकार शासक र राजाले निर्माण गरेको नभई जनताले आफैँले निर्माण गरेको बताए। धेरै कोसिस र लामो सङ्घर्षपछि निर्माण भएको संविधान अहिले कार्यान्वयनको चरणमा रहेको नेता नेम्वाङको भनाई छ।
उनले जिल्लामा विद्युत् र यातायातको सुविधा पुर्याउन आफू प्रयत्नशील रहेको बताए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङको अनुसार विसं २०५६ मा चुनाव लड्दा विद्युत् र यातायातको सुविधा थिएन र अहिले कति विकास भएको छ आफैँ देख्न सकिन्छ। जिल्लाका सबै घरमा विद्युत् पुर्याउन आफू प्रयत्नरत रहेको उनले बताए।