झापा–झापाको अर्जुनधारा–१ मा भण्डारण गरेर राखिएको २५ किलो विष्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीले चलाएको अपरेशनका क्रममा जुटको बोरामा लुकाएर राखिएको ‘हाई एक्सप्लोसिभ’ २ सय ५ लोला बरामद भएको हो।
अनारमनीका डीएसपी मोहनकुमार थापाले विप्लव समूहका झापा सेक्रेटरी मनिष भन्ने प्रविण मिश्र, इञ्चार्ज सुमनसिंह पौडेल, जनसरकार प्रमुख एवं झापा जिल्ला सदस्य टिका पोखरेल लगायतले ती विष्फोटक पदार्थ भण्डारण गरेर राखेको खुलेको जानकारी दिएको छ। भदौ ३० मा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।
थापाका अनुसार चियाको बोटमा हाल्ने औषधि भनेर उनीहरुल ती सामग्री राखेको पाइएकोे छ र एक महिनाअघिबाट उक्त सामान त्यहाँ राखिएको भेटिएको छ।
विप्लव समूहका नेताको गिरफ्तारीअघि जिल्लाका विभिन्न भेगमा श्रृंखलाबद्ध विष्फोटनका घटना भएका थिए।
बिर्तामोड–७, ८ र ९ को संयुक्त प्रशासनिक भवन, चारपानेमा साहारा सहकारीको निर्माणाधीन कार्यालय, गौरादहको सरकारी सवारी, अर्जुनधारा, दमक र एनसेल टावरका विष्फोटन लगायतमा यो समूह संलग्न रहेको जनाइएको छ।
अनुसन्धान संलग्न अधिकृतहरुले उनीहरुले पहिले चन्दा माग्ने र नदिने वित्तिकै तर्साउन विष्फोट गराउने गरेको देखिएको बताएका छन्। यसअघि चलाइएको अपरेशनमा केही महत्वपूर्ण दस्तावेज पनि बरामद भएका थिए।