काठमाडौं — बडादसैं नजिकिएसँगै बजारमा हरियो तरकारीको मूल्य उकालो लागेको छ। हरियो तरकारीको मूल्यवृद्धि भएसँगै नेपालीको भान्सा पनि महँगिएको हो।
पछिल्लो एक हप्ताको तथ्यांक विश्लेषण गर्ने हो भने कालीमाटी तरकारी बजारमा तरकारीको मूल्य २ सय प्रतिशतसम्म वृद्धि भएको छ। कालीमाटी तरकारी बजारको यही असोज ६ गतेदेखि एक हप्ताको तथ्यांकअनुसार अधिकांश तरकारीको मूल्य ३० प्रतिशतले वृद्धि भएको छ।
एक हप्तामा सबैभन्दा बढी पालुंगोको साग २ सय प्रतिशतले वृद्धि भएको छ भने हरियो प्याजको मूल्य ६९ प्रतिशतले वृद्धि भएको छ। अरु तरकारीको मूल्य पनि ३० प्रतिशतभन्दा बढी वृद्धि भएको छ। यसै समयमा फलफूलकोसमेत मूल्य आकासिएको छ।
बाटोको अभावमा तरकारी कुहिने तथा समयमै बजारसम्म नआइपुग्ने कारण मूल्यवृद्धि भएकाले वर्षा रोकिएपछि भने तरकारी तथा फलफूल सस्तो हुने व्यवसायीहरुको अनुमान छ। सर्लाही, बारा, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, नुवाकोटलगायतका क्षेत्रबाट काठमाडौं उपत्यकामा तरकारी भित्रिने गर्छ।
उपत्यकामा भित्रिने बाटोका कारण किसानबाट कालीमाटी तरकारी बजार आइपुग्दा नै तरकारीको मूल्य २० प्रतिशतले बढेर आउने गरेको बताइएको छ।