काठमाडौं– राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल (न्याडजोन) को प्रतिनिधिमण्डलले युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारसँग आज भेटघाट गरी सङ्घ स्थापनाको आवश्यता र औचित्यबारे जानकारी गराएको छ।
न्याडजोनका अध्यक्ष तथा संविधानसभा सदस्य विनोद पहाडी, उपाध्यक्ष तथा नेपाल पत्रकार महासङ्का सदस्य गोपाल बराइली, महासचिव लक्ष्मण दर्नाल, कोषाध्यक्ष सुष्मा बराइली, सदस्य भीम मिघिरे विश्वकर्मा, बुद्धि विश्वकर्मालगायतले मन्त्री सुनारसँग भेट गरी दलित समुदायका पत्रकारको अवस्था र समस्याबारे जानकारी गराएका थिए।
सोही अवसरमा मन्त्री सुनारले दलित आन्दोलनलाई एकताबद्ध गर्नका लागि न्याडजोनले पुलको काम गर्नसक्ने बताए। देशभरिका दलित पत्रकार एकै ठाउँमा सङ्गठित हुनुपर्नेमा जोड दिँदै उनले न्याडजोनको उन्नति र विकासका लागि सहयोग मिल्ने प्रतिप्रबद्धता व्यक्त गरेका छन्। उक्त सङ्घले दलित आन्दोलन र पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने तीन दलित नेताको नाममा छुटृाछुटृै पत्रकारिता पुरस्कार स्थापना गरेको छ।
उक्त सङ्घले हालै सम्पन्न बैठकले लामो समय आन्दोलनमा सक्रिय नेता एवम् लेखक÷पत्रकार टिआर विश्वकर्माको सम्मानमा ‘टिआर विश्वकर्मा स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको हो। राणाशासनविरुद्ध आन्दोलन चलिरहँदा कुचिकारको काम गर्दै कारागारबाट गणेशमान सिंहलगायत नेताको चिट्ठी आदानप्रदान गर्ने राममाया च्यामेको सम्मानमा ‘राममाया च्यामे लोक पत्रकारिता पुरस्कार’ पनि स्थापना गरिएको छ।
त्यसैगरी सङ्घले नेपाली काङ्ग्रेसका संस्थापक सदस्य एवम् प्रचार सङ्गठन प्रमुख, लेखक एवं नेपाली चलिचत्रका पहिलो निर्देशक देवव्रत परियार (डिबी परियार) को सम्मानमा ‘देवव्रत परियार स्मृति राष्ट्रिय पुरस्कार’ पनि स्थापना गरेको छ। सो पुरस्कार सङ्घको स्थापना दिवसका अवसरमा प्रदान गरिनेछ। (रासस)