काठमाडौं– ‘हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा’ भनेजस्तो छाँट छैन, यसपालीको दशैं मौसमले सबैलाई तर्साइसकेको छ। भनिन्छ, घटस्थापनासँगै यो वर्षको दशैं प्रारम्भ हुन्छ। शहर–बजारमा किनमेल गर्नेहरुको भीड, बसपार्कमा टिकट काट्नेहरुको भीड, कालीमाताका मन्दिरहरुमा दर्शन गर्नेहरुको भीडले पनि दशैं आएको संकेत गरिसकेको छ।
‘दशैंसम्म पानी पर्नसक्छ।’ तर, ‘खाने मुखलाई जुँगाले कहाँ छेक्छ र साइला’ भने जस्तै दशैंको यो उल्लासलाई पानीले कहाँ रोक्छ र, पानी पर्न नरोकिएपनि दशैंले हामीलाई छोपिसकेको छ।
दशैं नेपालीहरुको एक मात्र त्यस्तो ठूलो पर्व हो। जसलाई हरेक वर्ग, जात–जाति तथा भूगोलमा मनाइन्छ। सर्वसाधारणदेखि सेलिब्रेटीसम्मलाई दशैंले छुन्छ। यही मेसोमा हामीले केही नेपाली सेलिब्रेटीहरुलाई उनीहरुको यसपटकको दशैं मनाउने तयारीका बारेमा जिज्ञाशा राखेका छौं।
सञ्चिता लुइटेलः
अभिनेत्री सञ्चिता लुईंटेल दशैंको नौरथाको नौ दिन नै माता दूर्गाको ब्रत बस्छिन्। नौरथाभरी हरेक दिन बिहान र साँझ दूर्गामाताको पूजा गर्छिन्। उनी नौ दिनसम्म पानी मात्र खाएर ब्रत बस्छिन्। सञ्चिता भन्छिन्, ‘दशैंको टीकाको दिन बुवा–आमा तथा श्रीमान् (अभिनेता निखिल उप्रेती) को हातबाट टीका लगाएपछि छोरा–छोरीहरुलाई टीका लगाइदिन्छु।’
टीकापछि मात्र उनी दशैंको खानपिनमा व्यस्त हुने रहिछिन्। ‘धेरै परिकार पकाउने, खाने, आफन्तकहाँ जाने, नयाँ लुगा लगाउने सञ्चिताको दशैंको योजना छ।
नीरु खड्काः
अभिनेत्री नीरु खड्काको परिवारमा यो वर्ष दशैं मनाउन मिलेन। ‘त्यसैले दशैंभरी टिका लगाउने र आशीर्वाद थाप्ने काम गर्न नभए पनि आफन्तकहाँ भेटघाटका लागि जाने योजना छ, खड्का भन्छिन्।
‘वर्षभरी कार्यव्यस्तताका कारण जान नपाइएका ठाउँहरुमा, आफन्तकहाँ जाने तयारी गर्दैछु। त्यसबाहेक दशैंको बिदामा केही पुस्तकहरु अध्ययन गर्न बाँकी छन्, त्यसलाई अध्ययन गरेर सकाउँछु।’
विपना थापाः
अभिनेत्री विपना थापा भारतमा बसोबास गर्छिन्। बुहारीको रुपमा रहेकी अभिनेत्री थापाले उतैको रितिरिवाज अनुसार दशैं मनाउने गर्छिन्। जुन नेपालमा मनाइने दशैंभन्दा केही फरक छ।
‘दशैंमा म सकेसम्म माईती (काठमाडौं) नै आउने प्रयास गर्छु। तर, यो पटक दशैंकै बेला छोराको विद्यालयको परीक्षा परेकाले आउन नमिल्ने भयो, अभिनेत्री थापा भन्छिन्, ‘हाम्रो मथुरामा अलि फरक शैली अनुसार धार्मिक तरिकाले दशैं मनाइन्छ।
म ब्राह्मण परिवारकी बुहारी भएकीले पुरै नवरात्रि (नौरथा) भरी पूजापाठमै बित्छ। यहाँ माछा–मासु चल्दैन। देविमाताको पूजापाठ हुन्छ। मथुरामा त झन् चारैतिर भजनकीर्तन मात्र हुन्छ।’
मल्लिका कार्कीः
गायिका मल्लिका कार्कीले पनि यसपटकको दशैं परिवारसँग रमाइलो गरेर मनाउने योजना बनाएकी छिन्। अघिल्ला वर्षहरुको दशैंमा उनी सांगीतिक कार्यक्रमहरु सहभागिता जनाउन विदेशमा हुन्थिन्।
त्यसैले परिवारसँग बसेर दशैं मनाउन पाएकी थिइनन्। यसपटक पनि उनलाई विदेशबाट कार्यक्रमको कुरा आएको थियो। ‘तर, परिवारसँगै दशैं मनाउने निर्णय गरेकाले मैले यसपटकका दशैंमा सांगीतिक कार्यक्रमलाई महत्व दिइन, मल्लिकाको भनाइ छ।
तेन्जिङ शेर्पाः
इभेन्ट मेनेजर तथा ईन्टरनेशनल इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजी (आईआईएफटी) का प्रवन्ध निर्देशक फुपू तेन्जिङ शेर्पाका अनुसार वर्षभरी नै विभिन्न प्रकारका कामहरुले पूर्ण रुपले घेरेको हुन्छ।
‘त्यसैले मैले यो दशैं पर्वलाई छुट्टीकै रुपमा सेलिब्रेट गर्ने चाडको रुपमा लिएको छु, शेर्पा भन्छन्, ‘त्यसैले यसपालिको दशैंमा पनि साथीभाइसँगको रमाइलो भेटघाट अनि रमाइलोमा नै केन्द्रित हुनेछु।’
सञ्जय श्रेष्ठः
गायक सञ्जय श्रेष्ठका अनुसार उनी दशैंमा प्रायजसो परिवारका सदस्यहरुसँगै रमाउने गर्छन्। उनी भन्छन्, ‘यस पटकको दशैंमा पनि मासु–चिउरा खाँदै, चङ्गा उडाउँदै अनि तास खेल्दै रमाइलो गर्ने योजना छ।’
सञ्जयका अनुसार दशैंको सबैभन्दा ठूलो र महत्वपूर्ण कुरा भनेको ठूलाबाट आशीर्वादसहित टीका थाप्दै र सानाहरुलाई आशीर्वादसहित टिका लगाइदिनु नै हो।
विनोद सिंहः
किङ्स लाउञ्जका इभेन्ट मेनेजर विनोद सिंहलाई वर्षभरी मनाइने चार्डपर्वहरुमध्ये दशैंको विशेष महत्व लाग्छ। हरेक बिहिबार पाटनको बंगलामुखी मन्दिरको दर्शक गर्ने नियम बनाएका सिंहले दशैंको नवरात्रीभरी धेरै वटा देवीका मन्दिरहरुको दर्शन गर्ने योजना बनाएका छन्।
दशैंकै लागि भने उनी यसपटक परिवारका सदस्यहरुसहित पोखरा जाने तयारी गर्दैछन्। ‘काठमाडौं बाहिर गएर दशैं मनाएको छैन, सिंह भन्छन्, ‘त्यसैले यो पटक दशैंको नौलो अनुभव हुनेछ।’
सहिमा श्रेष्ठः
गायिका सहिमा श्रेष्ठले यसपटकको दशैं बुटबलमा मनाउने योजना बनाएकी छिन्। अघिल्ला वर्षहरुमा सांगीतिक कार्यक्रमको व्यस्तता कहिले विदेश त कहिले काठमाडौं रहनुपर्ने बाध्यताले गर्दा उनले घर गएर दशैं मनाउन पाएकी थिइनन्। ‘त्यसैले यसपटक परिवारका सबै सदस्यहरु भेला भएर रमाइलो गर्दै दशैं मनाउने योजना सहिमाको छ।
अमृत क्षेत्रीः
गायक अमृत क्षेत्रीको योजना अलिक बेग्लै छ। उनी भन्छन, ‘यसपटकको दशैंमा म मेरो पुख्र्यौैली घर पर्वत गएर परिवारका सबै सदस्यहरुसँग रमाइलो गर्दै दशैं मनाउँदै छु।’
निर्मल शर्माः
निर्देशक तथा अभिनेता निर्मल शर्माको दशैं प्रायः सामान्य नै हुन्छ, आम नेपालीको जस्तै, यो वर्षको दशैं मनाउने तयारीका बारेमा गरिएको जिज्ञासामा कलाकार शर्मा भन्छन्, ‘दशैंमा मारकाट गर्ने गरेको छैन। जुवातासको चलन छैन।
अष्टमीको दिन बुबाको एकछाकी पर्छ। नवमीको दिन श्राद्ध पर्छ।’ कलाकार शर्माले आफ्नो परिवार ठूलो भएकाले दशैंको टीकाटालामा धेरै समय लाग्ने बताए। ‘ठूलो परिवार छ, ३७ वटा घरमा टीका लगाउन जानुपर्छ।
१ सय ६० जान त हाम्रो घरमै आउँछन, कलाकार शर्मा भन्छन्, ‘मम्मीको ७ दिदी–बहिनी अनि दिदी–भिनाजु, भान्जा, भान्जी, बुवाको ५ दाजुभाइ अनि उनीहरुको सन्तान, ससुराली परिवार जावलाखेल पनि पुग्नैपर्छ।
सबैतिर दक्षिणा जान्छ तर ससुरालीतिरबाट टन्नै उठ्छ पनि।’ धर्म–कर्ममा समेत रुचि राख्ने कलाकार शर्मा दशैंको सप्तमीको दिनसम्म हरेक दिन दूर्गामाताको मन्दिर जान्छन्। साँझमा छोराहरुसँग घरको छतमा गएर चंगा उडाउँछन्।
केटाकेटीको बेलाजस्तो नयाँ लुगाको खासै रहर नभएको अभिनेता शर्माको भनाइ छ। घरमा खसी कोही नखाने भएकाले दशैंमा आफ्नो घरमा कुखुराको मासु र माछामात्र पाक्ने उनी बताउँछन्।