काठमाडौँ – दसैँका कारण देशैभरका अदालतमा आज आईतबार देखि १५ दिनका लागि बिदा सुरु भएको छ।
हरेक वर्ष दसैँको घटस्थापनादेखि कोजागत पूर्णिमासम्म बिदा हुँने गरेको थियो भने यस वर्ष पनि हरेक वर्ष जस्तै सबै तहका अदालत तथा न्यायाधीकरणहरुमा बिदा दिइएको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।
अदालतको नियमित काम कारबाही बन्द हुने भए पनि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण र जिल्ला अदालतहरुबाट पक्राउ पुर्जी जारी गर्ने काम भने यथावत नै रहनेछ। अरु सरकारी कार्यालयहरुको बिदा जनआन्दोलनपछि कटौती भए पनि सर्वोच्च अदालतमा भने यथावत नै छ।
अदालतहरु जनतासँग प्रत्यक्ष रुपमा जोडिने र उनीहरुको उपस्थितिमा मुद्दाको सुनुवाई, पेशी, तारिख तोक्न नसकिने हुँदा न्यायालयमा बिदा दिइएको सर्वोच्च अदालतले जनाएको छ। अदालतहरु कोजागत पूर्णिमाको भोलिपल्ट असोज २६ गते खुल्नेछन्।