काठमाडौं– संसदमा विचाराधिन ‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन हुनेमा ढुक्क हुन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन्।
प्रचण्डले संसदमा पेश गरिएका सबै विधेयकलाई संविधानको भावना र मर्म अनुसार अघि बढाउन आफ्नो पार्टी दृढ रहेको जानकारी दिए। ‘प्रेसलाई संकुचन गर्ने, नियन्त्रण गर्ने कुनै पनि विधेयक आयो भने त्यो संविधानको मूल मर्म र भावना विपरित हुन्छ,’ शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘संसदमा पेश गरिएका चालू विधेयकलाई परिमार्जन गर्ने, संशोधन गर्ने र त्यसलाई संविधानको भावना र मर्म अनुसार बनाउन आफ्नो पार्टी दृढ रहेको विश्वास म सञ्चारकर्मी साथीहरुलाई दिलाउन चाहन्छु।’
सम्बोधनका क्रममा आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको पनि पटकपटक दोर्होयाए। उनको अनुसार प्रेस स्वतन्त्रताको अर्थ अराजकता होइन, उदण्डता होइन भन्नेमा सञ्चारकर्मीहरुले पनि ध्यान दिनुपर्ने छ। पत्रकार स्वयंमले राज्य नियन्त्रण गर्नुभन्दा कस्तो मूल्यमान्यता आचार संहिता बनाउन सोच्नु पर्ने पनि उनको भनाई छ।