काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अनुसार केपी ओली नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासकै सबैभन्दा असफल सरकार हो। सरकारले दशैं खर्चसमेत धान्न नसकिने गरी महँगी बढाएको उनको भनाई छ।
शनिबार काठमाडौंमा दशैंको अवसरमा पार्टीले आयोजना गरेको एक कार्यक्रममा देउवाले नेपालमा ओली सरकार सबैभन्दा असफल सावित भएको बताए। धेरै कर बढाएर सारा उद्योगी, व्यापारी आजित छन। सरकारले महंगी बढाएको कारण जनताले दशैं खर्चसमेत धान्न सक्ने अवस्था छैन।
सरकारले एकदलीय अधिनायकवादी सर्वसत्तावाद लाद्न प्रजातन्त्र विरोधी कानुनहरु बनाउने प्रयास गरिरहेको सभापति देउवाले आरोप पनि लगाए। प्रजातन्त्र विरोधी सरकारका कुनै पनि गतिविधि सैहृय नहुने उनले चेतावनी दिए। आगामी निर्वाचनमा कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार ढाल्ने गरी पार्टीको काममा लाग्न नेता, कार्यकर्तालाई कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले निर्देशन दिए।
निर्वाचनमा नेपाली कांग्रेसलाई कुनै पनि राजनीतिक दलले हराउन नसक्ने भएपनि अन्तरघातका कारण हार्नु परेको सभापति देउवाले दावी गरेका छन्। उनका अनुसार सिंगो पार्टी पंक्तिले आगामी निर्वाचनमा विजयी हुने गरी पार्टीको कामलाई अघि बढाउन प्रतिज्ञा गर्नुपर्ने छ।