काठमाडौं– सभामुख कृष्णबहादुर महरा र चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी पेङ दिङ्हृवाबिच भेटवार्ता भएको छ। कजाखस्तानको नूरसुल्तानमा सम्पन्न युरेसियन मुलुकका सभामुखहरुको बैठकबाट फर्किने क्रममा शुक्रबार सभामुख महरासहितको नेपाली प्रतिनिधि मण्डलले सिचुवान प्रान्तका पार्टी सेक्रेटरी पेङसँग भेटवार्ता गरेको हो।
बिहीबार बेइजिङमा चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी)का उपाध्यक्ष लिउ सिनछङसँग भेटवार्ता गरेका महराले शुक्रबार सिचुवान प्रान्तका पार्टी सेक्रेटरी पेङसँग भेटवार्ता गरेका हुन्।
सभामुख महराका अनुसार चिनियाँ राष्ट्रपति सी जिनफिङलाई स्वागत गर्न नेपाल आतुर रहेका छन् र भ्रमणको तयारी तीव्रताका साथ भईरहेको छ। सभामुख महराको सचिवालयका अनुसार सिचुवान प्रान्तका पार्टी सेक्रेटरी पेङले राष्ट्रपति सीको नेपाल भ्रमणले दुई देशको सम्बन्ध र आत्मीयता झन् उचाइमा पुग्ने बताएको छ।
असोज २७ गते चिनियाँ राष्टँपति सी भारत हुँदै नेपाल आउने बताइए पनि चीन र नेपाल सरकारका अधिकारीहरुले भ्रमण मितिबारे औपचारिक रुपमा जानकारी दिएका छैनन्। भेटका अवसरमा नेपाल र सिचुवान प्रान्तको सम्बन्धलाई अझ सुदृढ गर्न छेन्दुमा नेपाली महावाणिज्य दूतावास स्थापना गर्न जरुरी रहेको पनि सभामुख महराले जनाएका थिए। चीनको तिब्बतबाट शुरु हुने परियोजनाले नेपाल र चीनबीचको यातायात थप सहज हुने पेङले जवाफमा भनेका थिए।
शनिबार सभामुख महरासहितको प्रतिनिधि मण्डल काठमाडौं फर्किंदै छ। गत साता युरोसियन मुलुकका सभामुखहरुको बैठकमा सहभागि हुन सभामुख महरा ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै कजाकस्तान गएका थिए। सभामुख महरा नेतृत्वको प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरि, संघीय संसद सचिवालयका प्रमुख लेखा नियन्त्रक बसन्तराज सिग्देल र सभामुखका स्वकीय सचिव डोरबहादुर पुन छन्।