काठमाडौं – सरकारले आगामी असोज १३ गते ‘नेपाललाई खुला दिसामुक्त राष्ट्र’ घोषणा गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेर नेपाललाई खुला दिशा मुक्त राष्ट्र घोषणा गर्ने कार्यक्रम रहेको खानेपानी मन्त्री विना मगरले जानकारी दिइन।
खानेपानी मन्त्रालयले शुक्रबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री मगरले सामाजिक उत्थानको क्षेत्रमा निकै ठूलो उपलब्धि हासिल भएकाले राष्ट्रिय उत्सवकै रुपमा मुलुकलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिन लागेको बताइन। उनले सो अभियानलाई सफल बनाउन सबै मन्त्रालय, सम्वद्ध पक्ष र सर्वसाधारणलाई पनि अपिल गरिन।
सरकारले सन् २०११ सालबाट हरेक जिल्लालाई खुला दिशामुक्त घोषणा गर्न सुरु गरेको थियो। सोही अभियान अन्तरगत सबैभन्दा पहिला कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो। यो अभियान स्कुल तह, जिल्ला तहहुँदै अघि बढाइएको पनि मन्त्री मगरले जानकारी दिइन।
अभियानमा सबै राजनीतिक दल, पेशा र व्यवसायमा संलग्न रहेकाले पनि देशलाई नै खुला दिसामुक्त घोषणा गर्न सक्ने अवस्थामा आइपुगेको खानेपानी मन्त्रालयको भनाई छ। खुला दिशामुक्त राष्ट्र घोषणा भएसँगै सरसफाई अभियानलाई तीव्रता दिने सरकारको योजना रहेको छ।