काठमाडौं – अदालतले गरेका फैसलामाथि प्रश्न नउठाउन भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरराणाले सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन्। पछिल्लो समय एनसेल लाभकर प्रकरणमा सर्वोच्चद्वारा भएको फैसालामाथि संसदमै प्रश्न उठेपछि प्रधानन्यायाधीश राणाले असम्बद्ध व्यक्ति तथा निकायबाट अदालतका फैसला तथा आदेशको परीक्षण गर्न खोजिनु मान्यता विपरित भएको बताए।
शुक्रबार दशैं, तिहार तथा छठ पर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा प्रधानन्यायाधीश राणाले संविधान तथा कानूनले अपेक्षा गरेअनुसारको भूमिका र जिम्मेवारी निर्वाह गर्न न्यायपालिका सदैव क्रियाशील हुँदै आएको स्मरण गराए।
स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाबाट न्याय सम्पादनको रोहमा भएका फैसला वा आदेशहरुको विधिपूर्वक परीक्षण हुन सक्दछ। तर, असम्वद्ध व्यक्ति, निकाय वा प्रक्रियाबाट परीक्षण गर्ने कार्य आफैमा स्वतन्त्र न्यायपालिकाको अवधारणा र मूल्य मान्यता विपरित हुन जाने प्रधानन्यायाधीश राणाले बताए।
उनका अनुसार यसले न्यायपालिकाप्रतिको विश्वसनीयतामा प्रश्न उठ्न जान्छ र नेपालको संविधानले परिकल्पना गरेको सक्षम र सुदृढ न्यायपालिकाको स्थापनामा सहयोग पुग्दैन। प्रधानन्यायाधीश राणाले योजनावद्ध व्यवस्थापनको माध्यमबाट न्यायिक सुधारका प्रक्रियाहरुलाई अगाडि बढाउने उद्देश्यका साथ न्यायपालिकाको चौथौ पञ्चवर्षीय योजना लागू गरिएको पनि जानकारी दिए।