काठमाडौँ, ९ माघ – करुणामय देउताका रुपमा पुजिने जनबाहाद्यो (सेतो मच्छिन्द्रनाथ) को बिहीबार प्राणप्रतिष्ठा र बज्रयानविधिअनुसार दशकर्म पूजा गरिएको छ।
सेतो मच्छिन्द्रनाथको महास्नानपछि बज्रयान विधिअनुसार जनबहालका बौद्धविद्वान् अष्टरत्न बज्राचार्यबाट दशकर्म पूजा गरिएको हो।
सेतो मच्छिन्द्रनाथलाई दशकर्म विधि (जन्मदेखि मृत्युसम्म तथा महिला र पुरुषमा गरिने सबै पूजाविधि) नेवारी समाजमा गरिने प्रचलनअनुसार गरिने परम्परा छ।
सेतो मच्छिन्द्रनाथलाई केटा र केटीका रुपमा पूजिने गरिन्छ। यसअघि सेतो मच्छिन्द्रनाथको महास्नानपछि माघ ७ गते गरी प्राणप्रतिष्ठासँगै दशकर्म विधिको पूजा गरिएको हो।
सर्वसाधारणलाई सेतो मच्छिन्द्रनाथको दर्शन दिइएको बेला परम्पराअनुसार नेवारी पँय्ता बाजाको धुन बजाइएको थियो।
सेतो मच्छिन्द्रनाथको दर्शन गर्न ठूलो सङ्ख्यामा भक्तजनको उपस्थिति थियो। दशकर्म विधिपछि सेतो मच्छिन्द्रनाथलाई आफ्नो आसनमा विराजमान गराइएको थियो।