वीरगंज — उपप्रधानमन्त्री पोखरेललले उद्घाटन गरेको विद्युतीय बस आयातमा ’झेल’ भएको आशंङ्का गरिएको छ। उद्घाटनका दिनमा यो कम्पनीले रिङरोडमा दुई वटा विद्युतीय बस संचालनमा ल्याईएको थियो। कार्डमार्फत भाडा तिर्न सकिने अत्याधुनिक बस संचालन ल्याएको सुन्दर यातायात अन्तर्गतकै अर्को कम्पनी सुन्दर यातायात ट्रेडर्सले विहिबार विद्युतीय बस र साना गाडी बिक्रीको सूचना समेत जारी गर्यो।
कम्पनीका अध्यक्ष भेषबहादुर थापाले सार्वजनिक बस चलाउन यातायात कम्पनी र गाडीको बिक्री गर्न ट्रेडर्स कम्पनी खडा गरेको बताए। ‘काठमाडौंमा विदयुतीय गाडी यातायात कम्पनीमार्फत चल्छ। विद्युतीय गाडी पनि आयात गरेर बिक्री गर्नका लागि ट्रेडर्स कम्पनी खोलेका छौं। त्यही कम्पनीले गाडी बेच्ने सूचना जारी गरेको हो।’
कसरी आयो दुईवटा गाडी ?
सुन्दर ट्रेडर्सले चीनबाट ल्याएको बस एक महिनाअघि वीरगंज भन्सारबाट जाँचपास भएको देखिन्छ। ट्रेडर्सले सिचुवान गोन्झाओ अटोमोबाइल्स कम्पनी लिमिटेडबाट प्रति बस (४० सिटे) करिब ९० हजार अमेरिकी डलरमा खरिद गरेर त्यो गाडी ल्याएको वीरगंज भन्सारको अभिलेखबाट देखिन्छ। वीरगंज भन्सारमा गाडी आएपनि सुरुमा जाँचपास भएको थिएन।
यातायात व्यवस्था विभागबाट रोड वर्थिनेश परीक्षणका लागि गाडी आयात गरिएको भन्दै पत्र पठाएपछि भन्सारले जाँचपास गरेको हो। त्यसैगरीे विभागको पत्रका आधारमा गाडी जाँचपास गरेको वीरगंज भन्सारका सूचना अधिकारी मनीष महतोल बताएका छन्। विभागका मेकानिकल इन्जिनियर मोहनप्रसाद भट्टराईको हस्ताक्षर रहेको भदौ २ को पत्रमा सडक परीक्षण (रोड वर्थनेस टेस्ट) को लागि २ वटा गाडी मगाएकोले जाँचपास गर्ने ब्योहोरा छ।
कुन कम्पनीको हो गाडी?
चीनको विएके ग्रुप अन्तर्गतको एलटी कम्पनीले उत्पादन गरेको विद्युतीय गाडी ल्याएको सुन्दर ट्रेडर्सले दाबी गरेको छ। ‘चीनमा विएके ग्रुप अन्तर्गत एलटी कम्पनी छ। त्यो कम्पनीले उत्पादन गरेको गाडी हामीले ल्याएका हौं’ कम्पनीका अध्यक्ष थापाले भने, ’हामीले कानुनी हिसाबलेनै गाडी भित्र्याएका छौं।
एलटी कम्पनीले विद्युतीय गाडी एसेम्बल्ड गर्छ। त्यही कम्पनीसँग सम्झौंता गरेर विद्युतीय गाडी ल्याएका हौं।’ उनले विएके ब्राण्डको विद्युतीय गाडी ल्याएको दाबी गर्दै आएका थिए। तर भन्सार जाँचपासका लागि पेश गरेको कागजमा भने सिचुवान गोन्झाओ अटोमोबाइल्स कम्पनी पेश गरेका छन्।
कसरी ल्याउन पाइन्छ गाडी?
नेपालमा नयाँ सवारी साधन आयात गर्नको लागि निर्माता कम्पनीले नेपालमा कुनै कम्पनीलाई आधिकारिक बिक्रेता नियुक्त गरेर त्यसमार्फत सवारी साधनको आयात गर्न सकिन्छ। त्यसैगरी दोस्रो बाटो भनेको निर्माता कम्पनीले नेपालका लागि विदेशस्थित कम्पनीलाई आधिकारिक विक्रेता तोक्ने अनि त्यही आधिकारिक विक्रेताले नेपालमा नियुक्त गरेको आधिकारिक विक्रेतामार्फत सवारी साधन आयात गरी सामान आयात गर्न सकिन्छ।